एनआरएनएको पहलमा मृतक दीपक बानियाँको शव ब्यबस्थापन खर्च र अन्तिम संस्कार पोर्तुगल मै हुने

पोर्तुगलमा अलेन्तेजु क्षेत्रको साओ तेओतोनिओमा बस्दै आएका दीपक बानियाँको पोर्तुगल मै अन्तिम संस्कार हुने भएको छ । म्याग्दी सिङ्गा घर भएका बानियाँ उच्च रक्तचापको कारणबाट गत बुधबार असामयिक निधन भएको थियो । पारिवारिक सहमतिमा उनको अन्तिम संस्कार पोर्तुगलमा हुने भएको हो ।

उनको शव ब्यबस्थापन गर्न एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरेको संयोजकत्वमा जससका उपाध्यक्ष वकिल केसी, एनआरएनए अलेन्तेजु क्षेत्रीय अध्यक्ष शिव वाग्ले र मोना अलेन्तेजु अध्यक्ष मणि पौडेल उपाध्याय रहेको एक समिति गठन भएको जानकारी दिइएको छ । सो समितिको पहलमा उनको शव ब्यबस्थापनमा लाग्ने सम्पुर्ण खर्च उनकी श्रीमती काम गर्ने सुदोवेरी कम्पनीले ब्यहोर्ने प्रतिवद्दता गरेको एनआरएनए पोर्तुगल अध्यक्ष तिलक गैरेले बताए । उनका अनुसार मृतक बानियाँ कार्यरत माराभिल्ला कम्पनीले पनि परिवारलाई केही सहयोग उपलब्ध गराउने विश्वास दिलाएको छ ।

गैरेका अनुसार मृतक बानियाँको बुधबार सम्ममा अन्तिम संस्कार हुने सम्भावना रहेको छ । मृतकलाई कोभिड-१९ लागे नलागेको रिपोर्ट आएपछि मात्र शव उपलब्ध गराउने भएकोले अन्तिम संस्कारमा केही दिन ढिलाइ भएको बुझिएको छ । उनको अन्तिम संस्कार बेजा नजिकैको फेराइरोस भन्ने ठाउँमा गरिने तय भएको जनाइएको छ ।

मृतक बानियाँले पोर्तुगीस नियमानुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका थिए । कृषिमा काम गर्ने श्रीमतीलाई लिन गएका बानियाँले पाँच मिनट पहिले श्रीमतीलाई फोन गरेका थिए । पाँच मिनटपछि श्रीमती आइपुग्दा उच्च रक्तचापका कारण उनी आफ्नो गाडी भित्रै लडेको भेटिएको थियो ।उनलाई तत्काल ओदिमिरा अस्पताल पुर्‍याए पनि केही समयमै अस्पतालले मृत घोषणा गरेको थियो ।

करिब दुई वर्ष पहिले उच्च रक्तचापले हानेर शरीर आंशिक शिथिल भएको थियो । लगातारको उपचार र फिजियोथेरापीपछि उनले सामान्य काम गर्नसक्ने भएका उनले दिनदिनै धेरै औषधी सेवन गर्नु पर्थ्यो ।

उनका श्रीमती र एक छोरा पोर्तुगल छन् । बानियाँका जेठा छोरा नेपालमै रहेका छन् ।

सन २०१० यता पोर्तुगलमा ३५ नेपालीले ज्यान गुमाएका छन् ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु