गैर आवासीय नेपाली संघ बेलायतको पदाधिकारी बिशेष बैठकका ताजा निर्णयहरु

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका पदाधिकारीहरुको विशेष बैठक बिद्धुतीय माध्यमबाट अध्यक्ष पुनम गुरुङको अध्यक्षता सम्पन्न भयो । कोरोना महामारीको सम्बन्धमा २१ मार्चमा सम्पन्न पूर्ण कार्यसमितीको बैठकले गरेका निर्णयहरुमा केन्द्रित भएर निर्दिष्ट बुँदाहरुमा घनिभूत छलफल भयो । विशेषत बेलायतको नेपाली समुदायमा कोरोनाको प्रभावले उत्पन्न परिस्थितीलाई सम्बोधन गर्न संघका उपाध्यक्षज्यू हरुको संयोजन रहने गरी छुट्टयाइएको कार्यक्षेत्रमा कसरी काम गर्ने भन्ने सम्बन्धमा ब्यापक छलफल भयो ।

बैठकमा अन्तर्राष्ट्रिय समन्वय परिषदका स्वास्थ्य विभाग प्रमुख डा. संजिव सापकोटाले अतिथी प्रस्तोताको रुपमा कोरोनाले सृजना गरेको ग्लोबल समस्या र एन आर एन स्वास्थ्य विभागको तयारी सम्बन्धमा अपडेट गर्नु भयो ।

एन आर एन यूके स्वास्थ्य विभाग संयोजक डा. सुनिल शाह तथा महिला संयोजक प्रसुना कंडेलले एन आर एन यूकेको स्वास्थ्य विभागको तयारी र कार्ययोजना तथा स्वास्थ्य क्षेत्रले सामना गरेको चुनौतीको सम्बन्धमा अपडेट गर्नु भयो ।
बैठकमा उपाध्यक्षहरु रोजिना अप्रधान राई, प्रेम गाहा मगर, नारायण कंडेल, रामचन्द्र पोख्रेल, मोहन कार्की ले आफ्नो विभागको कार्ययोजना बारे अपडेट गर्नु भयो ।

एन आर एन यूकेले स्थापना गरेको हेल्प लाईनबारेको अपडेट सचिव कृष्ण ढकालले गर्नु भयो ।

इंगल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठले एन आर एन यूकेले दिएको जिम्मेवारी बहन गर्दै आजै राज्य परिषद्को बैठक बोलाएर कार्ययोजना बनाएको बारे अपडेट गर्नु भयो ।
झन्डै ३ घण्टा चलेको बैठकमा वर्तमान स्थितीको समिक्षा गर्दै भविष्यको योजनामा केन्द्रित हुनको लागी तयारी रहनु पर्ने निष्कर्ष सहित सहभागी पदाधिकारीहरु बीच ब्यापक छलफल भएको थियो ।

बैठकले निम्न निर्णयहरु गरेको छ :

१. सम्भावित कोरोना संक्रमणको कारण हिजो लन्डनमा मृत्यु भएका लीला बहादुर राई प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै यो बैठक मृतकको परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

२.बेलायतमा नेपाली बिद्यार्थीहरुलाई परेको कठिन परिस्थितीका रिपोर्टहरु माथी तथ्यगत अध्ययन तथा विश्लेषण गर्दै उनीहरुलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे ब्यापक छलफल भयो । साच्चिकै समस्यामा परेका बिद्यार्थीहरुलाई सिधै एन आर एन यूकेमा सम्पर्क गर्न आवहान गर्ने । साथै एन आर एन यूकेले बिद्यार्थीहरुको तथ्यांक संकलन गर्दै विभिन्न माध्यमबाट उनीहरुको सम्पर्कमा पुग्न पहल गर्ने र सहयोग आवश्यकताको पहिचान गर्ने ।

३. बेलायतको नेपाली समुदायका भूपू गोर्खा पेन्सनर तथा वृद्द वृद्दाको आवश्यक सहयोगको लागी भूतपूर्व गोर्खा संगठन लगायतका संस्थाहरु संग समन्वय गर्दै सहयोगको प्रार्थमिक क्षेत्र पहिचान गर्ने र स्वास्थ्य तथा परामर्श लगायतको सहयोगको लागी परिचालित हुने ।

४. कोरोना संक्रमणको यो प्रारम्भिक चरण भएको विश्लेषण गर्दै यसको चरम उत्कर्ष र त्यसपछिका अवस्थाको लागी तयारी अवस्थामा रहनु पर्ने भएकोले कार्ययोजनाको तयारी गर्ने ।

५. बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मी हरुलाई समुदायको सेवामा पुर्याएको सेवाको सराहना गर्दै धन्यावाद ज्ञापन गरियो । साथै उनीहरुलाई उपयोगी हुने सुरक्षा किट लगायतका सामाग्री उपलब्ध गराउन प्रयत्न गर्ने ।

६ हाललाई हप्ताको दुई पटक एन आर एन यूके पदाधिकारीहरुको नियमित बैठक गर्दै तत्कालिन अवस्थाको अपडेट आम बेलायतवासी नेपालीहरुलाई गराउने ।

७ . नेपालमा फैलिन सक्ने सम्भावित कोरोना संक्रमणको रोकथामका हरेक उपाय अवलम्बन गर्न नेपाल सरकार तथा नेपाली जनतालाई आवहान गर्ने ।

एन आर एन यूके पदाधिकारीको अर्को बैठक आगामी बुधवार साझ ७ बजे बस्ने छ ।

धन्यवाद
फडिन्द्र भटराई
महासचिव, एन आर एन यूके
२२ मार्च २०२०

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु