Covid-19
City Express

गोविन्द आचार्य : पत्रकारितामा संघर्ष र अनवरत यात्राको पर्याय

पत्रकारिताको धार:
समाजका कृयात्मक कच्चा पदार्थलाई उत्पादनमा परिणत गर्ने एक कलात्मक एवम् रचनात्मक कार्यको परिछन्द हो, पत्रकारिताको सुगिन अभ्यास।घटना वा परिदृश्यलाई चुस्तदुरुस्त पर्दापण गर्ने कुशल अन्वेषक हो पत्रकार। समाज परिवर्तन र विकासको पहरेदारी गर्ने पत्रकारको जीवनशैली सायद आम मानिसलाई द्रवीभूत नहुन सक्छ। हेर्दा र सुन्दा जति सरल एवम् सामान्य लाग्ने पत्राकारिता क्षेत्र एक संवेदनशिलताको धार पनि हो। हरेक किसिमका अवरोधलाई सरलीकरण गर्दै सामाजिक न्याय र सिद्धान्तमा दायित्व निर्वाह गर्नु पर्ने हुन्छ।

२१ औं शताब्दीको मुल द्वारमा पाइला चालिरहँदा विगतदेखी वर्तमानसम्म पत्रकारिता जगतमा अनेकन उतारचढाव सृजना भए जुन अविस्मरणीय एवम् पठनिय बिषय छ। बौद्धिक धरातलको उत्कृष्ट संगम पत्रकारिता जगतमा विविध अबरोधका बिचमा पनि कुशल अभियान्ता एवं प्रणेताको उदय भएको छ। जसले संचारको माध्यमबाट समाज परिवर्तन र विकासलाई मूर्तरुप दिन अहोरात्र जीवन समर्पण गरेका छन्। आज हामी यहि सेरोफेरोमा रहेर नेपाली पत्रकारिता जगतका कुशल हिमायती एवं अमूल्य गहना गोविन्द आचार्यको जीवनकालमा खन्डिकृत रोचक तथा यथार्थ संघर्षका पाटाहरुलाई पर्दामा उतार्ने जमर्को गरिरहेका छौँ।

आफ्नो स्नेही जीवन सायद धेरै व्यक्तिलाई प्यारो लाग्छ। तर परिस्थितिको मागले व्यक्तिगत जीवन गौण हुँदै समाज विकास र परिवर्तनको संकल्प जब मानिसमा जवर्जस्त हुटहुटि चल्छ, तब समपर्णको डोरी कसिलो हुँदै जान्छ। यस्तै परिवेश र परिस्थितिको शिल्काहरु तेजबोध हुँदै गर्दा आचार्यको जीवन परिवर्तनका खातिर तरबारको धारमा जुधिरह्यो जुन झट्ट सुन्दा कारुणिक तर प्रेणादायी छ।

आचार्य बारम्बार मृत्युनजिक पुगेर जीवन वरण गर्ने एक भाग्यमानी र गौरवशाली पात्र हुन्। नेपालमा जतिखेर माओवादी जनयुद्ध सुरु भएको थियो। तद्समयदेखि नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आचार्य क्रान्तिको बिगुल चर्काउँदै समाहित हुन पुगे। जेलनेल भोग्दै दर्जनौं पटक सुरक्षा घेराबन्दीमा परेर पनि पुर्नजीवन प्राप्त गर्ने आचार्य भाग्यमानी पत्रकार पनि हुन्।

आचार्यको जन्म र सुरुवाती चरण:

उनको जन्म सन १९७४, १० मार्चमा बुवा यम प्रसाद शर्मा आचार्य र आमा मायादेवी आचार्यको कोखबाट प्युठान जिल्लाको तेराममा भएको थियो। मध्यम परिवारमा जन्मेका आचार्य बाल्यकालदेखिनै बौद्धिक एवम् अनुशाशित बालकको रुपमा समाजमा स्थापित हुन पुगे।उनी निडर स्वभावका थिए।कसैको अनावश्यक दबाब र निर्देशनलाई ठाडै अस्वीकार गर्ने हिम्मत उनमा अडिग थियो।त्यसैकारण समाजमा हैकम चलाउने वेक्तिहरुसँग उनी कहिल्यै मनोगत त्रासको भावमा प्रस्तुत भएनन्। एस एल सि गाउँकै विद्यालयबाट उत्तीर्ण गरेका आचार्यले कानुन र पत्रकारितामा स्नातकतह सम्म अध्ययन पुरा गरेका छन्। नेपालमा हरेक निम्न बर्ग परापुर्व कालदेखि नै उच्च बर्गबाट शोषित,पिडित एवम् विभेदको संकीर्णभावबाट तिरष्कृत हुँदै आइरहेका थिए।

एउटै गाउँमा गरिब गुरुवाले दिनभर साऊ महाजनको चाकडीमा समय व्यथित गर्दा पनि साझँ भात खान पाउँदैन थियो। उक्त अवस्थामा टुलुटुलु हेरेर बस्नु पर्ने वा पन्छिनु पर्ने बाध्यता थियो।यो कारुणिक एवम् दयनिय अवस्थामा गुर्जिएका जनताको निराशा र बेदनालाई निर्मुल गर्न आवाजहरु बिस्तारै तेजबोध हुने क्रममा थिए।उक्त अवस्थाको एक निरिह क्षेणलाइ चेतनामा रुपान्तरण गर्नु अपरिहार्य थियो। भावुक परिदृशयको मापन गर्दै आचार्यले कलमको द्वारबाट चेतनामूलक सन्देश प्रवाह गर्ने निधो गरे।

पत्रकारिताको औपचारिक सुरुवात र आवद्धता :

२०४८ सालमा औपचारिक रुपमा मातृभुमी साप्ताहिकमा आबद्ध भई पत्रकारिताको अध्याय सुरु गरेका थिए। उक्त साप्ताहिकमा २ वर्ष धाराप्रवाह रुपमा समाचार,लेख र रिपोर्टिङ गरेका आचार्य २०५० सालमा अर्को पत्रीका जनादेश साप्ताहिक र नेपाल तारा साप्ताहिकमा सह-सम्पादकको रुपमा आवद्ध हुन पुगे । लेखन र समाचार प्रवाहमा उनी निकै प्रखर थिए।उनको बौद्धिकता र लगनशीलताका कारण उनी २०५१ सालमा जनादेश साप्ताहिककै सह-सम्पादक भए भने २०५६ सालमा कार्यकारी सम्पादक हुँदै २०५८ सालमा सोहि साप्ताहिक पत्रिकाको सम्पादकक पदमा पदोन्नति भए। २०६३ सालसम्म उक्त पत्रीकामै अनवरत कार्य सम्पादन गरे।

उनको पत्रकारिता यात्रा केवल सिमित घेरा र बाँधमा अनुबन्ध भएन ताकी हरेक तह-तप्काको चित्रलाई दुरुस्त पर्दामा उतार्ने बहुआयामिक कलाको ध्वतक थियो। त्यसक्रममा २०६३ सालदेखी १ बर्ष नव चेतना मासिकको प्रधान सम्पादक भइ कार्य सम्पादन गरे भने २०६४ सालमा लामो समय कार्यरत जनादिशा साप्ताहिकको प्रधान सम्पादक भए।पत्रिकाको प्रतिस्पर्धात्मक धारलाई थप सवल एवम् बलियो बनाउन उनी एकहदसम्म सफल पनि भए। जनयुद्धताका कृष्णसेन अनलाइन र संष्लेषण मासिक पत्रिकाको सम्पादकको रुपमा कार्य सम्पादन गरेको अनुभव समेत आचार्यले संगालेका छन्।

माओबादी जनयुद्धमा अनुभव :

२०५१ सालमा माओवादीले राज्यका विरुद्ध बन्दुक उठाउने निणय गर्दै जनयुद्धमा होमियो। तद्समयदेखिनै क्रान्तिलाई शोषित जनताको मुक्ती दिलाउने अस्त्ररुपमा उपयोग गर्नु पर्छ भन्ने सन्दर्भमा अग्रपंक्तिमा थिए आचार्य। गरिब, निमुखा र पिडित जनताको जीवनलाई अँध्यारो जालबाट उज्यालो द्वारमा परिणत गर्ने नारालाई आचार्यले समेत शिरोधार्य गरे। केवल बन्दुकले मात्र शासन परिवर्तन हुने सम्भव थिएन ताकी जनतामा जनचेतना एवं जागरण पैदा गर्नु अपरिहार्य थियो। त्यो गम्भीर बिषयलाई आत्मासाथ गर्दै आचार्य सहितको समुहले गाउ -गाउँमा सुचना एवं समाचारको प्रवाहद्वारा जनतालाई गोलबन्द गर्न अग्रणी भुमिका निर्वाह गरे।

माओवादी युद्ध सुरु गर्नु पुर्व राज्यले माओवादी विरुद्ध रोल्पा र रुकुममा किलोसेरा अपरेसन शुरु गरेको थियो भने त्यहाँ थुप्रै माओवादी कार्यकर्ताको धरपकड भयो। सुरक्षा चुनौतिलाई मोलेरनै जनयुद्धसुरु हुनु केही समय अगाबै रोल्पा र रुकुमको गाउँ -गाउँसम्म पुगेर जनताको भावना र दृष्टिकोणलाई जनादेश साप्ताहिक मार्फत शिलशिलेवार प्रवाह गरे। जनयुद्धताका ती क्षेत्रबाट दर्जनौंपटक समाचार रिपोर्टिङ गरेर चेतनालाई उचाइमा पुर्याउने अथक प्रयत्न पनि गरे। कति दिन भोकै सुते, कति दिन खाली खुट्टा पैदल यात्रा गरे जुनको लेखाजोखा नै छैन।२०५७ सालमा माओवादीले रुकुमकोट प्रहरी चौकी आक्रमण गर्दा प्रत्यक्ष साक्षी आचार्य थिए। उक्त आक्रमणको परिदृष्य कहालीलाग्दो एवम् दर्दनाक भएको आचार्य बताउछन्।

माओवादी फौजी आक्रमणमा पहिलो पत्रकारको रुपमा आचार्य सहभागी हुँदा ३२ जना प्रहरी र ८ जना लडाकुको ज्यान गएको हृदयबिदारक दृश्यले उनलाई निकै गम्भीर बनाएको थियो। उनका साथीहरुको निधन हुँदा उनी भने बाँच्न सफल भएका थिए। कतिपय ठाउँको लडाइँमा गोलि लाग्दा लाग्दै छिचोलेर मृत्युबाट जोगिएको अनैकौ दृष्टान्त छन्। खासगरी युद्धकैताका सरकार र माओवादी बिच प्रथम पटक वार्ता हुने क्रममा सम्पर्क स्थापित गराउने शुत्रधारका रुपमा उनले बिशेष भुमिका खेलेका थिए। उक्त समयमा प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने यता नेतृत्वमा प्रचण्ड थिए। पत्रकार महासघंका पुर्व अध्यक्ष शुरेस आचार्यको देउवासँग बिशेष सम्बन्ध थियो। उनको सम्बन्धको कारणले पनि देउवासँग कुराहरु लैजान सहज भएको आचार्य बताउछन्।

राजा बिरेन्द्र र प्रचण्डबीच पनि सन्देश आदानप्रदान गराउन आचार्यलेनै मुख्य भूमिका निर्वाह गरेका थिए भने यता केपी ओली ,माधव कुमार नेपाल र प्रचण्डबीचमा दोहोरो बिचार साटासाट गर्न मध्यस्थताकर्ताको भूमिका पनि निर्वाह गरेका थिए। जनयुद्धकालमा खारा भिडन्त, रामेछाप र संखुवासभा लगायतका ठाउँमा दोहोरो भिडन्त हुँदा उनकै आँखा अगाडी साथीहरुले ज्यान गुमाउँदा उनी आफ्नो जीवन अन्तिम घडिबाट मुक्त गर्न सफल भएका थिए।

जब २०५८ सालमा सरकार संकटकाल घोषणा गर्दै धरपकड सुरु गर्यो तब उनी राज्य विरुद्ध कलममद्वारा अफहा फैलाएको आरोपमा पक्राउ परेर जेल गए। त्यतिखेर पत्रकारिता जगतकै मुर्धन्य व्यक्ति एवं जनादेश साप्ताहिकका सम्पादक कृष्ण सेनलाई २०५९ सालमा पक्राउ गरी ७ दिन पछि क्रुर अमानवीय तवरबाट मारिएको थियो। त्यो कहालीलाग्दो घटनाबाट आचार्य अत्याधिक बिक्षिप्त भएका थिए।

आचार्यले जेल जीवन बिताउँदा दर्जनौं पटक क्रुर यातनाबाट स्वयं प्रताडित भएका थिए भने जीवन अन्तिम दोसाँधमा घुटिघुटि चलिरहेको थियो। परिवार एवं समाजमा आचार्य बेपत्ता भई मृत्युुवरण गरिसके भन्ने हल्लाले सन्नाटा छाएको थियो। सायद आचार्य पनि पुनर्जीवन प्राप्त होला भन्ने कुनै पनि क्षण कल्पना गर्न सकेनन्। कुन पल मृत्युले आधिपत्य जमाउछ भन्ने त्रासमा मात्र उनी थिए। तर पनि आफ्नो अस्तित्व र स्वतन्त्रताको लडाइँमा रत्तिभर डगमगाएनन्।

उनको जीवन खोला सरि बगिसकेको थियो।उनको जीवन केवल समुन्द्रमा बिलिन हुन बाँकी थियो।अरुको हातमा लिलामी भएको जीवन फर्केर आफ्नै संसारमा आउछ भन्ने कल्पना कसले गर्न सक्छ र! समयको बार्दली उनको पक्षमा मडारियो फलस्वरूप उनी रिहा हुन सफल भए। मृत्युको मुखबाट पुनर्जीवन पाएका उनी नाफामै बाँकी जीवन प्राप्त भएको महशुस गर्छन। उनको पत्रकारिता यात्रालाई कसि लगाउन रोक्नेले रोक्न खोजिरहे,छेक्नेले छेक्न खोजिरहे तर उनको निस्पक्ष पत्रकारिता प्रतिको निस्ठा र लगाव उत्कर्षमा पुग्दै गयो परिणामस्वरूप उनी पुनः सक्रियताकासाथ अगाडि बढिरहे।

संघ-सस्थाको विभिन्न पदमा अनुभव :

२०६१ मा स्थापना भएको क्रान्तिकारी पत्रकार सघंको सस्थापक, २०६३ मा सरकारसँग बृहत शान्ती सम्झौता लगत्तै क्रान्तिकारी पत्रकार संघको उपाध्यक्ष हुँदै २०६५ सालमा सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट केन्द्रिय उपाध्यक्षमा निर्बाचित भएका थिए। सक्रियतालाई उचाइमा पुर्याउने क्रममा २०६८ जेठ देखि २०७० जेठ सम्म नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष ,२०७० मा क्रान्तिकारी पत्रकार संघको अध्यक्ष, २०७२ मा प्रेस सेन्टरको अध्यक्ष हुँदै २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सल्लाहकारमा नियुक्त भएका थिए।त्यसलगत्तै २०७४ मा पत्रकार महासंघको केन्द्रिय चुनावमा ३ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए।

नेपालमा अहिले पनि उनकै नेतृत्वमा रहेको पत्रकार महासंघले अभिव्यक्ति स्वतन्त्रता ,प्रेस स्वन्त्रता ,पत्रकारिताको सस्थागत विकास एवम् श्रमजिवि पत्रकारको हक-हितको पक्षमा अहोरात्र खटिरहेको छ ।उक्त कार्य एकदमै प्रेरणादायी छ। अमेरिका,बेलायत र कोरिया लगायत युरोपका विभिन्न राष्ट्रहरु भ्रमण गरी पत्रकारिताको विविध आयाम सन्दर्भमा उनले विशेष अनुभव संगालेका छन् ।

पुरस्कार र सम्मान :

आचार्य प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, कृष्ण सेन पत्रकारिता पुरस्कार एवम श्रमजीवी पत्रकारिता पुरस्कार लगायत दर्जनौं पुरस्कारबाट विभूषित भैसकेका छन्। कार्यसम्पादनमा निकै अब्वल ठहरिएका आचार्य कदापी हतास मनस्थितिद्वारा कार्य प्रारम्भ गर्दैनन ताकी उनी परिणाम दीर्घजीवी बनाउने दिशामा कटिबद्ध छन्। आज पनि पत्रकार महासंघको नेतृत्व समालिरहँदा हरेक पल पत्रकारकै हितलाई केन्द्रमा राखेर समबन्धित पक्षलाई खबरदारी गरिरहेका छन्। एउटा मानिस जेल-नेल भोग्दै वधशालाको मुखमा अल्झिएको जीवनलाई पुनः उज्यालो किरणमा बदलेर राष्ट्र र जनताकै उत्थानमा समर्पण गर्नु पक्कै पनि महानताको उदाहरण हो।

नयाँ पुस्ताकालागि सकारात्मक सन्देश:

जटिल समयको पखेटा कुन बेला सलबलाउछ भन्ने निश्चित हुँदैन। जहाँसम्म व्यक्तिमा धैर्यता र निष्ठा अनन्तसम्म रह्यो भने कुनै दिन जनताको आस्थाको धरोहर बन्न सक्छन् भन्ने आख्यान आचार्यको इमान्दारीता र नैतिकताले पुष्टि गरेको छ। पत्रकारिता जगतका गौरवपुर्ण पात्र एवं अनुकरणीय व्यक्तित्व आचार्यको जीवनका पाटोहलाई नयाँपुस्ताका पिढिले सद्मार्गमा अनुशरण गर्न सके फलदायी हुने निश्चित छ।

प्रस्तुति : कलश खरेल, हाल: पोर्तुगल।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु