Covid-19
City Express

पोर्तुगलकी मानस्वी खरालको बालकविताले अनेसास अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल (कविता सहित)

राजकुमार थापा

राजकुमार थापा, पोर्तुगल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय बाल समितिले आयोजना गरेको “अनेसास बालकविता प्रतियोगिता – २०७७”मा पोर्तुगलकी मानस्वी खरालको “आमा” शिर्षकको कविता उत्कृष्ट ठहरिएर प्रथम स्थान हासिल गरेकी छन् । सो प्रतियोगितामा अमेरिकाका विवेक खरेल द्वितीय र जापानका रिआना बोगटी तृतीय भएका छन् ।

पुरस्कृतहरु सबैलाई प्रमाणपत्र र नगदको व्यवस्था रहेको थियो । प्रथम पुरस्कर राशी ३ सय, द्वितीय २ सय र तृतीय १ सय अमेरिकी डलर रहेको छ ।

विगत पाँच बर्षदेखि बुबा योगेन्द्रमणि खराल, आमा निर्मला ढकाल खराल र बैनी मान्या खरालका साथ पोर्तुगल बस्दै आएकी १३ बर्षिय मानस्वी पोर्तुगलको नेपाली समुदायका कार्यक्रमहरुमा कविता लेखन, नृत्य लगायतका विविध रचनात्मक क्रियाकलापहरुमा सक्रियतापूर्वक भाग लिदै आएकी छन् ।

छोरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गरेकोमा आफुहरु अत्यन्त खुशी लागेको मानस्वीकी आमा नेपाली महिला समाज पोर्तुगलकी अध्यक्ष समेत रहेकी निर्मला ढकाल खरालले प्रतिक्रिया दिइन् ।

साहित्यकार महेश पौडेल (नेपाल)को संयोजनमा सुमलकुमार गुरुङ (बेलायत) र सुरेन उप्रेती (क्यानडा) रहेको तीन सदस्यीय निर्णायक समितिले मानस्वीको कवितालाई उत्कृष्ट ठहर गरि प्रथम स्थानलागि विजेता घोषणा गरेको हो ।

अनेसासद्वारा आयोजित यस प्रतियोगिताका लागि प्राप्त भएका कविताहरु उत्कृष्ट रहेको अनेसास बाल समितिका संयोजक डा. केशव शर्माले बताएका छन ।

निर्णायक समितिका संयोजक महेश पौडेलले यस महत्वपूर्ण प्रतियोगितामा निर्णायक मण्डलको संवेदनशील जिम्मेवारी दिएकोमा कृतज्ञता ब्यक्त गरेका छन ।

प्रतिकूल परिस्थिति र समयमा पनि अनेसास बाल समितिले नानीबाबुहरुलाई संलग्न गराएर यस्तो महत्वपूर्ण प्रतियोगिता गराएकोमा केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष राधेश्याम लेकालीले हार्दिक धन्यवाद ब्यक्त गरेका गरेका छन ।

तस्वीर : फोटो दृष्टि

हेर्नुहोस् प्रथम स्थान हासिल गरेको मानस्वीको कविता

आमा

मेरि आमा तिमि मेरो भगवान् ।
धेरै आदर गर्छु धेरै छ सम्मान ।
त्यो कोखले काख चिनायो ।
काखले नै हुर्कायो हिँडायो ।

जन्मिएँ अनि आमा पुज्न पाएँ ।
संसार देख्न पाएँ बुझ्न पाएँ ।
अंगालो पाएँ – हात समाएँ ।
आमाको मायामा धेरै रमाएँ ।

सुत्न मनलाग्छ तिम्रो काखामा ।
आँशु नदेखियोस तिम्रो आँखामा ।
संगै हिँड्न मन छ औंला समाउँदै ।
सँधै तिम्रै साथमा हाँस्दै रमाउँदै ।

निदाउँदा आमा अंगालो बेर्न पाउँ ।
बिउझिँदा पहिला आमा हेर्न पाउँ ।
म रुँदा सँधै आँशु पुछ्देउ आमा ।
मेरो भावना सँधै बुझ्देउ आमा ।

आमाकै माया रै’छ सबैभन्दा प्यारो ।
आमा बिनाको त संसार नै अँध्यारो ।
भगवानले मेरि भगवान रुन नपारुन ।
म बाट कहिल्यैनि टाढा हुन नपारुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु