Covid-19
City Express

बिदेशी भुमीमा कृष्णलाई परेको वज्रपात: नेपालमा आमाबाबु गुमाएर पनि लकडाउनले गर्दा अन्तिम मुख हेर्न पाएनन्

काठमाडौं । जब मानिसलाई बिपत्ति आउँछ, एकै पटक आउँछ भन्ने नेपाली समाजको भनाई ‘मोरङका ३२ बर्षिय कृष्णकुमार चौधरीमा चरितार्थ भएको छ।

जीवनमा सबै लागोस् तर दैव नलागोस् भन्ने अर्को नेपाली मान्यता छ तर कृष्णकुमारलाई दैवनै लाग्यो।बिदेशी भुमीमा परिवारको खुसीका लागि पसिना बगाइरहेका कृष्णले जीवनमा सोच्नै नसक्ने पीडा एकै पटक भोगे । एक दिन अस्पतालबाट फोन आयो, कुमार जी तपाईंलाई कोरोना पोजेटिभ दखिएको छ, सुरक्षित भएर बस्नुहोला ।’ उनी दुबईमा परिवारको खुसीका लागि पसिना बगाइरहँदा विश्वव्यापी फैलिएको कोरोनाले उनलाई पनि छोयो ।

दुबई हेल्थ अथोरेटीबाट आएको फोनले उनले टेकेको जमिन एक पटक थर्थरायो।तर पनि जीवनलाई बचाउनु थियो। उनको मनमा आयो, भाइरसबाट बच्ने औषधि पनि छैन भन्ने सोच्न थाले। “अब स्वदेश फर्कन नपाउने भए। श्रीमती र छोराको बिजोग हुने भयो ।”कृष्ण केही वर्षदेखि रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा छन्।

अस्पतालले उनलाई कोरोना भाइरस पुष्टि भएको जानकारी दिएपछि युएईमै क्वारेन्टाइनमा बसिरहेका छन्। उनले यस अघि नै अर्को वज्रपात सहि सकेका थिए।यता नेपालमा चैत १७ गते उनकी आमाको निधन भयो । उनी पाँच दिन देखि आमाको किरीयाका लागि खाना बारेर बसिरहेका थिए। कोरोना संक्रमण रोक्न नेपालमा लकडाउन एक साता गरेको कारण उनी आमाको अन्तिम मुख हेर्न पनि नेपाल आउन पाएनन् ।

उतै आमाको काममा (शोक बारेर) बसेका थिए।शोक बारेर बस्दा कृष्णकुमारले खानामा मुख बारेका थिए। सामान्य रुघाखोकीको लक्षण देखियो। उनले भने, ‘सँगै बसेका साथीहरूले स्वास्थ्य परीक्षण गराउँदा कोरोना भाइरस लागेको पुष्टि भएछ, त्यसपछि तत्काल गएर परीक्षण गराएँ ।’ कृष्णकुमार आमाको काममा थिए। पाँच दिन भएको थियो । बज्रपातको कुनै हद हुँदैन सायद।

अचानक उनका बुबाको पनि निधन भयो । विदेशी भूमिमा आमाबुबाको निधनको शोकमा रहेकै बेला दुबई हेल्थ अथोरिटीबाट कोरोना पोजेटिभ देखिएको खबर पाए।‘एकातिर घर फर्किन नपाउनुको पीडा छ, त्यसमाथि झनै कोरोना पोजेटिभ देखिएको खबरले मलाई पिडा दियो’ उनले भने, ‘मैले आत्मबल बलियो बनाएँ र पशुपतिनाथलाई पुकारिरहेँ।’

जीवनमा एक पछि अर्को पिडा भोग्दै आएका कृष्णकुमारले हिम्मत भने हारेका छैनन् । उनले आफुलाई कोरोनावाट निको बनाउन मेहनत गरिरहेका छन् । चिकित्सकले उनको स्वास्थ्यमा ९० प्रतिशत सुधार आइसकेको बताइदिँदा निकै खुसी लागेको बताउँछन्। ‘१२ दिनअघि कोरोना पुष्टि देखिएको थियो’ उनले भने, ‘नडराई घरमै सुरक्षित भएर बस्न थालेँ, इम्युनिटी पावर बढाउँदै लगेँ, अहिले अवस्था सामान्य छ ।’ आफुलाई परेको एक पछि अर्को वज्रपात पछि उनले सामाजिक सञ्जालमा आफ्नो पिडा पोखेका छन्।

उनले सामाजिक संंजालमा लेखेको भाबुक सन्देश :

धैर्य, सहनशीलता, लगनशीलता र जोशले सबैलाई बाधाहरूको बाबजुद पनि अघि बढाउँछ। ज्याकले भनेका पनि छन्— यदि तपाईंले हरेस खानु भएन भने तपाईसँग अझै मौका छ। जीवनमा धैर्य गर्न सक्नु एउटा सफलता हो।

नेपालमा लकडाउन उलंघन गर्दै मानिसहरू हिँडिरहेको समाचार पढिरहेको छु। कृपया लकडाउन पालना गर्नुहोस्। कोरोनालाई ख्याल-ख्याल नसम्झनुहोस्। यो महामारीलाई जित्न सुरक्षित भएर घरमै बस्नुपर्छ।सामान्य ज्वरो आउँदैमा आत्तिनु हुँदैन। नआतिनुहोस्। स्वास्थ्यको ख्याल गर्नुहोस्। ज्वरो जसलाई पनि आउँछ।

ज्वरो आइहालेमा सिटामोल खानुहोस्। आत्मबल कमजोर नबनाउनुहोस्।रुघाखोकी लागेको छ भने तातो पानीको वाफ लिनोस्। धैर्य गर्नुहोस्। निको हुन्छु भन्ने आत्मविश्वास पैदा गर्नुहोस्। हरेस खानुभयो भने कोरोनाले जित्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु