Covid-19
City Express

महाभारतका दुई रोचक प्रसंग र कोरना (COVID-2019) को उपचार !

प्रसंग– १

पिता द्रोणाचार्यलाई छल गरेर पाण्डवहरुले मारेपछी अश्वत्थामा अत्यन्त क्रोधित भए । उनले पाण्डव सेना माथि अति भयानक हतियार ‘नारायण अस्त्र” प्रहार गर्ने निर्णय गरे । यस्तो अस्त्र भगवान बिष्णु, श्रीकृष्ण, श्रीराम, गुरु द्रोणाचार्य र उनका छोरा अश्वत्थामासंग मात्रै थियो । यो यस्तो अस्त्र थियो जसको युद्ध मैदानमा कुनै प्रतिकार हुन सक्दैनथ्यो । यो अस्त्र प्रहार भए पछी युद्धमा हतियार सहित प्रस्तुत प्रतिपक्षको हरेक योद्दा अग्नि बर्षा भएर त्यहीं भष्म हुन्थ्यो । हातमा हतियार नहुनेलाई भने यसले छुदैनथ्यो ।

भगवान् श्री कृष्णले यो कुरा थाहा पाएर पाण्डव पक्षका सम्पूर्ण सेनाहरुलाई आफ्ना सबै अस्त्र-शस्त्र जमिनमा फालेर प्रार्थनारत रहन निर्देशन दिए । पाण्डव सेना हात-हतियार छोडेर चुपचाप प्रार्थनामा जुट्यो !

अश्वत्थामाले ‘नारायण अस्त्र’ छोडे तर त्यसले भस्म पार्ने प्रतिपक्षको युद्दरत एक सैनिक पनि फेला पार्न सकेन । छाडिएको नारायण अस्त्रको समय सकिएपछी यो निष्क्रिय भयो र युद्द मैदान शान्त देखियो । यसरी पाण्डव सेना ‘नारायण अस्त्र’ प्रहारको बिनासबाट बच्यो ।

यो त भयो एक पौराणिक कथा ।

मानौं, प्रकृति अहिले मानव जातिसंग रिसाएकी छन् । अहिले फैलिएको महामारीलाई प्रकृतिले मानव जाति माथि छोडेको ‘नारायण अस्त्र’ भन्ने अनुमान गरौँ । प्रकृतिको यस प्रकोपबाट बच्नकालागि पाण्डव सेना हात हतियार फ्याकेर युद्द मैदानमा शान्त बसे झैं हामी पनि शान्तिपूर्वक अहिले घरमै बसौं । नारायण अस्त्रको समयावधि सकिएर निष्क्रिय भए झैं कोरोना भाइरस पनि आफ्नो समयावधि पूरा गरे पछी शान्त हुनेछ ! त्यसैले Please calm down, keep physical distancing and stay at home !

प्रसंग–२

विदुर धृतराष्ट्रको राजसभामा प्रधानमन्त्री भएता पनि भतिजा पाण्डवप्रति पनि उनको अपार स्नेह थियो । दुर्योधनले पाण्डवहरुलाई नियमित रुपमा गर्ने दुराचारबाट विदुर संधै दुखि रहन्थे ।

दुर्योधनले पुरोचन नामको कालिगढ़ द्वारा पाण्डवहरुकालागि ‘वारणावत’ क्षेत्रमा अति सुन्दर महल बनाउन लगायो- लाक्षा गृह (लाहाको घर)। यो महल निर्माणमा अत्यन्त ज्वलनशील सामाग्री प्रयोग गरिएको थियो । पाण्डवहरुलाई त्यस महलमा बस्न पठाएपछि जंगलमा आगो लगाईदिएर उनीहरुलाई सखाप पार्ने दुर्योधनको योजना थियो । राज महलमा हुदैं गरेको यो षड्यंत्र थाहा पाएर बिदुर निक्कै चिन्तित थिए । तर यसको जानकारी पाण्डव समक्ष सहजै पुर्याउन उनको नैतिकताले दिदैनथ्यो, आखिर धृतरास्ट्रको नुन जो उनले खाएका थिए । प्रसंगबस एकदिन युधिष्ठिरलाई उनले सोधे- जंगलमा भयंकर डढेलो लाग्यो भने कुन चाहिं जनावर जीवित रहला ? युधिष्ठिरले जवाफ दिए- जंगलका राजा सिंह, तेज गतिमा दौडने हरिण-मृग,बिशाल शरीरका हात्ती आदि सबै आगोमा जलेर खरानी हुनेछन । तर आफ्नो घरभित्र दुलोमा चुपचाप बस्ने मुसाहरु भने सुरक्षित रहनेछन । डढेलोको महामारी सकिएपछी उनीहरुको दिनचर्या पूर्ववत रुपमा पुन: सुरु हुनेछ । ज्ञानी युधिष्ठिरले विदुरको सांकेतिक भाषा बुझी हाले र सोहि अनुरुप बन्दै गरेको लाक्षा गृह मुनी गुप्त रुपमा सूरुंग बनाउन थालियो । लाक्षा गृहमा लागेको आगो जगंलभरि फैलियो । आगोमा डढेर पुरोचन आफैं पनि मारियो । जंगलमा डढेलोको महामारी फैलिएर धेरै जीवजन्तु मरे तर पाण्डवहरु भने सुरुंग मार्फ़त सुरक्षित रहन सफल भए ।कोरोना भाइरसको डढेलो लागेको छ पृथ्वीमा अहिले ! माथिको प्रसंगबाट यहाँहरुले बुझी हाल्नु भयो होला अहिलेको अवस्थामा सुरक्षित रहन हामीले के उपाय अपनाउनु पर्छ भनेर । बुझ्नेलाई किन धेरै व्याख्या, विज्ञेशु किम अधिकम….. ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु