Covid-19
City Express

समाजसेवामा रमाउँदै पोर्चुगलमा नेपाली महिला

लिस्बन । काठमाडौंकी सुशीला थापा १० वर्षदेखि पोर्चुगलमा बसोबास गर्छिन् । उनी रोजगारीका सिलसिलामा नेपाली भूमि छाडेर विदेशिएकी हुन् । विदेश बसाइका क्रममा नेपालीले भोगेको समस्याप्रति थापा जानकार छन् । नेपाली दाजुभाइ तथा दिदीबहिनीको समस्या समाधान गर्न थापाले आफ्नातर्फबाट सक्दो काम गरिरहेका छन् । प्रवासमा रहेर पनि थापाले विभिन्न सङ्घसंस्थामा सक्रिय भई काम गर्दै आएकी छन् । ‘प्रवासमा समस्यामा परेका नेपालीलाई सकेको सहयोग गर्न पाउँदा निकै खुशी छु’, थापा भनिन्, ‘नेपाली समाज संघ-संस्थाहरुबाट पनि सक्दो हौसला, सहयोग र सद्भाव प्राप्त भएकोमा खुशी छु ।’

पोर्चुगलमा रहेर गैरआवासीय नेपाली सङ्घ, नेपाली महिला समाज, प्रवासी नेपाली एकता मञ्च, नेपाली नारी समाज लगायत धेरै संघसंस्थामा काम गरेकी थापा समाजमा निःस्वार्थ काम गर्दा समाजले हेर्ने दृष्टिकोण भने फरक रहेको बताउँछिन् । ‘मैले प्रवासमा रहेर पनि सकेको सहयोग गरेको छु’, उनले भनिन्, ‘महिलाले गरेको समाजसेवा पुरुषको नजरमा अलिक कमजोर होकी झैं चाहिँ हुने रहेछ । तैपनि म आफ्नो कामप्रति दृढ छु ।’ अस्थायी र स्थायी बसोबासका लागि धेरै नेपाली महिला विभिन्न देशबाट पोर्चुगल आउने गर्छन् । भाषा, सीप र क्षमता अभावकै कारण धेरै नेपाली समस्यामा पर्ने गरेको थापा बताउँछिन् । ‘महिला होस् या पुरुष, समस्यामा परेका सबै नेपालीलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो’, उनले भनिन, ‘पुरुषकै कारण नेतृत्व तहमा नपुगे पनि उनीहरुसरह समाजसेवामा भने तल्लीन छौं ।’

अहिले पोर्चुगलमा सुशीला मात्रै होइन, अन्य महिला पनि आफ्नो कामसँगै समाजसेवामा सक्रिय छन् । दुई वर्षदेखि पोर्चुगलमा रहेकी सीता श्रेष्ठले पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीको समस्यामा साथ दिँदै आएकी छन् ।

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका महिला उपाध्यक्ष एवं नारी समाजमा रहेर काम गरेकी श्रेष्ठ समाजसेवा गर्दा अपजस बढी आउने गरेको अनुभव सुनाउँछिन् । उनले दुव्र्यसन र समस्यामा परेका नेपालीको उद्धार, रोजगारमा लगाइदिने जस्ता काम गर्दै आएकी छन् ।

प्रवासमा सबैभन्दा धेरै महिलाको समस्या रहेको श्रेष्ठ बताउँछिन् । ‘नेपालमा जस्तै प्रवासमा पनि महिलाहरु शारीरिक, मानसिक र आर्थिक समस्याबाट पीडित भएका छन्’, उनले भनिन्, ‘‘पुरुषप्रधान समाजमा हुर्केका हामी नेपालीको सोचाइमा परिवर्तन आउन आवश्यक छ ।’ श्रेष्ठका नजरमा प्रवासमा जति समाजसेवा गरे पनि नेपाली समाजले महिलाको कामप्रति कतै कतै प्रश्न गर्ने गरेको छ । ‘दैनिकजसो महिलाका केही न केही समस्या आइनै रहन्छन् । दुवै पक्षलाई राखेर समस्याको समाधान पनि गर्ने गरेका छौं, उनले थपिन, ‘पुरुषले पेलेको हाम्रो नेपाली समाजले महिलाका सराहनीय कामप्रति जस भने कहिल्यै दिँदैन ।’

यस्तै हाल पोर्चुगलमै रहेकी दोलखाका निमल्हमु शेर्पाको भनाइ पनि उस्तै छ । शेर्पा किदुक पोर्चुगलको भर्खरै सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी निमल्हमु दुःखमा परेका प्रवासी नेपालीलाई सहयोग गर्न पाउँदा सन्तुष्टि मिलेको बताइत् । ‘मलाई समाजसेवाका लागि पारिवारिक साथ र सहयोग पनि छ, त्यसैले नेपाली समुदायका लागि समाजसेवा गर्न तयार छु’, उनले भनिन्, ‘प्रवासमा आएर पनि हाम्रो सोचाइ र अरुले गरेको कामको सम्मान हामी सबैले गर्न जरुरी छ ।’

भगवान गिरी/रासस  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु