Covid-19
City Express

साईप्रसमा रहेका नेपालीहरुकालागि सम्प्रेषित जानकारी

कोरोनाका कारण साईप्रसमा रहनुहुने नेपालीहरुको भिषा, छुट्टीमा नेपाल गई त्यहाँबाट फर्कन नपाएकाहरुको फिर्ती, अध्यागमन (Immigration), House/Hostel Rent and College fees जस्ता विषयमा स्पष्ट हुन दूतावासले साईप्रसको परराष्ट्र मन्त्रालय लगायत त्यहाँका सम्बन्धित निकायहरुमा पत्राचार, टेलिफोन तथा ईमेलमार्फत् निरन्तर कूटनीतिक पहल गरिरहेको छ। यिनै विषयहरुका सम्बन्धमा पछिल्लो समय साईप्रस सरकारबाट प्राप्त निम्न जानकारीहरु साईप्रसमा रहनुहुने सम्पूर्ण नेपालीहरुको लागि सम्प्रेषण गरिएको छ-
१) साईप्रस सरकारले बिदामा नेपाल गई त्यहाँबाट फर्कन नपाएकाहरुमध्ये प्रवेश अनुमति (Entry Permit) मा “Final – NOT RENEWABLE” उल्लेख भएका बाहेक अन्य सबैको हकमा १ जनवरी २०२० देखि नेपाल वा साईप्रसको लकडाउनका कारण नेपालबाट साईप्रस आउन नसकेका तथा साईप्रसमा अस्थायी वसोवास अनुमति (Temporary Residence Permit) वा भिषाको म्याद १५ मार्च २०२० भन्दा पछि समाप्त भएका विदेशीहरुलाई कुनै पनि औपचारिक प्रक्रिया बिना नै बन्दाबन्दी (Lockdown) समाप्त भएपछि साईप्रसमा प्रवेश दिने भएको छ। तसर्थ नेपालमा थुनिनुभएका साईप्रसमा कार्यरत/अध्ययनरत नेपालीहरुको माथि उल्लेख भएको अवधिको भिषा स्वतः नवीकरण भएको जानकारी गराउन चाहन्छौं। College Fees तथा House/Hostel Rent पूर्ण रुपमा मिनाहा गरिदिन वा केही प्रतिशत छूट गरिदिन वा भुक्तानी अवधि लम्ब्याइदिन दूतावासले साईप्रस सरकार समक्ष पटक पटक अनुरोध गरेको थियो। College Fees को विषयमा विद्यार्थीहरुले संगठित रुपमा आफू अध्ययनरत कलेजमा सौदावाजी (Bargaining) गरी निवेदन दिएमा Fee घटाउन वा मिनाहा गर्न कलेजहरु सकारात्मक हुने सम्भावना देखिएकोले यसै सूचनामार्फत् विद्यार्थीहरुलाई आफू अध्ययनरत कलेजको प्रशासन समक्ष अन्य मुलुकका विद्यार्थीहरुलाई समेत साथमा लिएर सामूहिक रुपमा निवेदन (लिखित) दिन, तर्कपूर्ण रुपमा तथा संयमित रुपमा आफ्ना कुराहरु राख्न पनि हामी आग्रह गर्दछौं। Hostel Fees/House Rent को सम्बन्धमा अझै स्पष्ट जवाफ प्राप्त हुन सकेको छैन भने Immigration नभएकाहरुको Immigration समेत सम्बन्धित कलेजले अहिलेको संकट समाप्त भएसँगै पूरा गर्ने बुझिएको छ।
२) अत्यन्तै समस्यामा परेका विद्यार्थीहरुलाई गैर आवासीय नेपाली संघ साईप्रसले अवैतनिक वाणिज्यदूत तथा त्यहाँ क्रियाशील अन्य संघ-संस्थाहरुको सहयोगमा राहत वितरण गरेको सबैलाई थाहै छ। यस सह्राहनीय कार्यका लागि दूतावास साईप्रसस्थित अवैतनिक वाणिज्यदूतावास, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् तथा अन्य संघसंस्थाहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छ। तर यसरी नै पटक पटक राहत वितरण गर्नु व्यवहारिक नहुने तथ्यलाई मध्यनजर गर्दै दूतावासले साईप्रस सरकारको तर्फबाट नै राहत उपलब्ध गराइदिन समेत अनुरोध गरिएको छ। यस सन्दर्भमा साईप्रसमा अत्यन्त समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्नका लागि पुरा नाम र सम्पर्क नं. सहित पठाउनु भनी त्यहाँको परराष्ट्र मन्त्रालयबाट जानकारी प्राप्त भएकाले अवैतनिक वाणिज्यदूतावास, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् तथा अन्य संघसंस्थाहरुसँग समन्वय गरी यसमा समेटिनुपर्नेहरुको सूची तयार गरी पठाईनेछ।
३) विभिन्न मुलुकबाट नेपालीहरुलाई उद्धार गरी स्वदेश फर्काउने सम्बन्धमा नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको र यो अन्तिम चरणमा पुगेको ‍छ। सरकारको निर्णय एवं निर्देशन प्राप्त भएमा ईजरायल र साईप्रसमा रहेका नेपालीहरुलाई नेपाल फर्काउने दिशामा दूतावासले एक तहको तयारी पूरा गरिसकेको छ। नेपाल फर्कन चाहनेहरुमध्ये कसैले फारम भर्न बाँकी रहेको भए दूतावासको वेभसाइटमा राखिएको तलको लिङ्कमा क्लिक गरेर अनिवार्य रुपमा फारम भर्नुहोला।
लिङ्क : https://il.nepalembassy.gov.np/emergency-form-2/
४) अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै Illegal र Over stay भएका, स्वास्थ्य विमा नभएका एवं अध्यागमन (Immigration) नभएकाहरुले समेत कोरोनाको संक्रमण भएमा अन्य व्यक्तिहरुले सरह उपचार/क्वारेन्टाइनको सुविधा पाउने छन् भने उनीहरुलाई सरकारले पक्राउ गर्ने (arrest), यहाँबाट फर्काउने (deportation), Stop List मा राख्नेजस्ता प्रक्रिया तत्कालका लागि नगर्ने जानकारी प्राप्त भएकोले नडराउन/नलुक्न समेत दूतावास परिवार हार्दिक अनुरोध गर्दछ।
५) कोरोना भाईरस संक्रमणका लक्षणहरु (ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, आदि) देखा परेमा सरकारले उपलब्ध गराएको हटलाइन १४२० मार्फत् तत्काल खवर गर्नुहोला। यतिबेला घरमै बस्नुहुन, अन्य व्यक्तिहरुसँग भौतिक रुपमा सम्पर्कमा नआउनुहुन अनुरोध छ । रेडक्रसले आवश्यक परेकाहरुलाई खाना समेत दिइरहेको जानकारी प्राप्त भएको हुनाले समस्यामा परेकाहरुले रेडक्रसमा सम्पर्क गरी सहयोग माग्नुहुन पनि अनुरोध गर्दछौं।

डा. अन्जान शाक्य
राजदूत
तथा नेपाली राजदूतावास परिवार, तेल अबिब।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु