बागलुङ समाज पोर्चुगलद्वारा पहिरो पीडितलाई आर्थिक सहयोग

सहयोगी हात अघि बढाउदै बागलुङ समाज पोर्चुगल

प्राकृतिक विपत्ति, बाढी पहिरो लगायतले देश आक्रान्त हुँदा प्रवासमा बस्ने नेपालीहरुको मन सधैं बेचैन हुन्छ, अनि आफ्नो गाउँ-ठाउँ र जिल्लाका लागि केही सहयोग गरौं भन्ने भावनाले सहयोगी हात र मनहरु तम्तयार हुन्छन्।

केही समय अगाडि बाग्लुङ जिल्लाको ढोरपाटन र जैमिनी नगरपालिकामा बाढीपहिरो गयो र जनधनको ठूलो क्षति भयो। बाढीपहिरो पीडितको पीडामा केही न केही मलम पट्टी लगाउन “बाग्लुङ समाज पोर्चुगल” ले सहयोगको आव्हान गर्यो र रु ९ लाख चालीस हजार भन्दामाथि सहयोग संकलन भयो। उक्त संकलित रकम बाग्लुङ पठाइ वितरण सम्पन्न भएको समाचार प्राप्त भएको छ।

बाग्लुङ समाज पोर्चुगलका अध्यक्ष प्रेम खड्काका अनुसार सहयोग उठेको रु ९,४०,७८४: ४० पैसा मध्ये ढोरपाटन नगरपालिकामा रु ८ लाख प्रदान गरिएको छ। जसमा २३ जना मृतकका परिवारलाई रु ९ हजारका दरले र ७३ घर क्षति भएकालाई रु ८ हजारका दरले हस्तान्तरण गरिएको छ। तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा एम्पायर घमबहादुर थापाको सहजीकरणमा उक्त रकम प्रदान गरिएको हो।

यसैगरी जैमिनी नगरपालिकामा रु १ लाख दिइएको छ। जस मध्ये मृतक ३ परिवारका सदस्यलाई रु १५ हजारका दरले र ७ घर पूर्ण क्षति भएका ७ जनालाई रु ९ हजारका दरले प्रदान गरिएको छ। उक्त रकम जिल्ला सहकारी संघ मार्फत वितरण गरिएको हो।

यस्तैगरी तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडित पाँच घरपरिवारलाई रु ४० हजार रुपैया वितरण गरिएको छ।

समाजका सल्लाहकार एवं पोर्चुगलका सफल व्यवसायी तथा समाजसेवी सूर्य हमालका अनुसार “पीडित परिवारलाई प्रत्यक्ष सहयोग पुगोस् भन्ने हेतुले नगद नै सहयोग गरिएको हो।”

सहयोग गर्नुहुने सबै सहयोगी मनहरु र सहयोग हस्तान्तरण गर्न सहजीकरण गर्ने नगरपालिका, सहकारी र व्यक्ति व्यक्तित्वहरुलाइ अध्यक्ष खड्काले धन्यवाद दिंदै आभार व्यक्त गरे।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु