दलितको उठिबास गराउने प्रयास

महोत्तरी । जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत पर्ने  लक्ष्मीनिया बजारबाट ५ किलोमिटर पश्चिम लागे पुगिन्छ, हरिनमारी गाउँ, जुन गाउँ महोत्तरीको भाङहा नगरपालिका–९ मा पर्छ ।  नगरपालिकाको तथ्याङ्क अनुसार ५०० घरधुरी भएको हरिनमारीमा यादवपछि क्रमशः मुसहर, तेली, दास, चमार, मुस्लिम, ठाकुर र डोम जाती बसोबास गर्छन् ।

वडामा मात्रै २१ प्रतिशतभन्दा बढी जनसंख्या मुसहर समुदायको छ । तर, पञ्चायतकालमा  उनीहरूलाई गाउँ बस्न नदिएपछि छुट्टै गाउँ बसालेको मुसरहरहरूको आरोप छ । त्यही इतिहास पुन : दोहोर्‍याउन केही मानिस लागेको त्यहाँ पाँच पुस्तादेखि बसोबास गरिरहेको मल्लिक परिवारको गुनासो पनि छ । हरिनमरी गाउँ सकेपछि अन्तिमको २ घरमा मल्लिक परिवार बसोबास गर्छन् ।

फुसको घरमा टिनको जस्ताले छाएको ती घरका मानिसहरूको अनुहारले उठिबास हुने चिन्ताले निकै सताएको देखिन्छ । ४५ वर्षीय सिकेन्दर मल्लिक भावुक हुँदै तीन महिनादेखि निदाउन नपाएको दुःखेसो पोखे । नयाँ घर निर्माण गर्न उनले गएको चैत्र मसान्त नै आधा गर तोडे । त्यपछि उनले दैनिक विपतको सामान गर्न परिरहेको सुनाए । गरीबको कोही सहारा नभएको भन्दै उनले न्यायका लागि सबैलाई पुकारे । तर, कोही पनि सुनेनन् ।

घर निर्माण तीन महीनादेखि ठप्प
गत चैतमा जनता आवास कार्यक्रम अन्तर्गत २ कोठे पक्की घर निर्माण गर्ने मल्लिक परिवारले खबर पाए । मल्लिक परिवार खुशीले गदगद भए । मल्लिक परिवारकै ललिता मल्लिक उपभोक्ता समितिको अध्यक्ष समेत भइन् । ललिता वैशाखमा नै घर निर्माण गर्न इट्टा, बालुवा, सिमेन्ट र रड माग्यो ।

सीकेन्द्र मल्लिक पाँच पुस्तादेखि हरिनमारी गाउँको १० धुर ऐलानी जमीनमा बस्दै आएको छ । यसकारण घर निर्माणमा कुनै प्रकारको समस्या नआउने भन्दै ललिताले ढुक्कसाथ घर निर्माणका लागि सम्पूर्ण तयारी गरिन् ।

काम सुरु गर्दा छिमेकी घडेरी भएको स्थानिय रामजात्न यादव, रामप्रसाद यादव, शिव नारायण यादव र ललका यदाव लगायतका मानिसहरू विरोधमा उत्रे । गाउँमा डोमको घर निर्माण नहुने उनीहरूले अडान कसे । त्यसयता उनले दैनिक जनप्रतिनिधिदेखि स्थानीय नेता गुहारिरहेकी छन् । तर, घर निर्माण हुने सुरसार भने देखिएको छैन ।

छिमेकीले किन विरोध गर्दै छन् ?
सरकारले छुवाछुत जस्ता कुप्रथा समाजबाट हटाए पनि त्यो समस्या अझै गाउँमा विद्यमान छ, जसको सबै भन्दा ताजा उदाहरण हरिनमारीको उक्त घटना हो । छिमेकी घडेरी भएका मानिसहरूले मल्लिक परिवारलाई सधैं हप्काएर राखेको स्थानीय गाउँलेहरू बताउँछन् ।

उनीहरू मल्लिक परिवार गाउँबाट अन्तै विस्थापित गर्ने योजनामा छन् । मल्लिकको वरिपरि सबै जग्गा घडेरी छन् । त्यस वरिपरि प्रति कठ्ठा रु. १०  लाखमा विक्री हुने गर्छन् । दलित भएको ठाउँमा अन्य जातिका मानिसहरू उक्त ठाउँमा नबस्ने चलन छ । यसकारण मल्लिकको छिमेकीहरु घर निर्माणमा विरोध गर्दै आएका छन्। छिमेकीहरूले सडकसमेत अतिक्रमण गरी उनको घर हटाउने प्रयास गरेको छ ।

पटक पटक उठिबास गराउने प्रयास
मल्लिक परिवारलाई पटक पटक छिमेकीहरूले उठिबास गराउने प्रयास गरेको बुझिएको छ । विसं २०६६ सालमा पनि स्थानीय जनप्रतिनिधिले विकाशको नाममा डोजरले घर भत्काउन प्रयास गरेको थियो । त्यति बेला नेकापाका स्थानिय नेता रमेश यादवले विकल्प दिएर मात्रै घर तोड्ने अडान लिए ।

नेता रमेश यदावको नेतृत्वमा त्यति बेला मल्लिक परिवार सुरक्षित भएको स्थानीयको भनाइ छ । सिकेन्द्र मल्लिकको अनुसार तीन पटक छिमेकीहरूले घर भत्काउन प्रयास गरेको बताए । कानून विपरीत छिमेकीहरूले घर भत्काउन प्रयास गरेको उनले आरोप लगाए । विगतको दिन सम्झिँदा सिकेन्द्रको आँखा रसाउँछ । आफूमाथि भएको विभेदबारे उल्लेख गर्दा उनले आफूलाई सम्हाल्नै सकेनन् ।

जग्गा भाउ बढ् थालेपछि यहाँबाट विस्थापित भएपछि उठिबास हुने डरले मल्लिक परिवार स्तब्ध भएका छन् । जग्गाको मूल्य दिन दुगुना र रात चौगुना बढ्दो छ । त्यसैमाथि गाउँ केही मानिसले देखाएको गैर मानवता जस्ता गतिविधिले उठिबास हुने चिन्ताले पूरा परिवार पिरोलेको छ ।

के भन्छन् दलित अगुवा ?
नेपाल विसं २०६८ जेठ २१ गते जातीय छुवाछुत मुक्त राष्ट्रका रुपमा घोषणा गरिएको थियो । उक्त दिन प्रतिनिधिसभाबाट जातीय छुवाछुत तथा भेदभाव कसुर र सजाय ऐन पारित भए पनि छुवाछुत अझै कायमै रहेको भन्दै दलित अगुवाहरू चिन्ता व्यक्त गरेका हुन् ।

सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा धार्मिक रुपमा वञ्चितीकरण गरिएका तथा राज्यको मूल प्रवाहबाट पछाडि रहेको दलितमाथि अझै विभेद र हिंसाको घटना हुने गरेको राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताए । उनले सिकेद्र मल्लिकले एक साताभित्र न्याय नपाए आफूहरूले कडा कदम चाल्ने चेतावनी दिए ।

सदिऔंदेखि विभेदको चपेटामा पिल्सिदै आएका दलित समुदायले आजसम्म पनि उन्मुक्ति नपाएको दलित संघर्ष समितिका प्रदेश २ अध्यक्ष चन्देश्वर दासले बताए । उनले आफूहरू स्थलगत अनुगमन  र पीडित परिवारलाई भेटेर आएको भन्दै सरोकार वाला निकायसँग कुराकानी गरिरहेको जानकारी दिए ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु