गृहपृष्ठ अन्तर्राष्ट्रिय उडान थपियो,यस्तो छ जुलाईदेखि उडान कार्यतालिका
अन्तर्राष्ट्रिय उडान थपियो,यस्तो छ जुलाईदेखि उडान कार्यतालिका

नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ। प्राधिकरणका अनुसार जुलाईमा प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुनेछन्।
मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा उडान तालिका तय गरिएको प्राधिकरणले जनाएको छ। सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ।
कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन्। अन्य गन्तब्यमा भने सातामा कुल २१ उडानको अनुमति दिइएको छ।
अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन्।
नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ। कोरिया, टर्की, कुवेत र ओमान नेपाली वायुसेवा कम्पनी नजाने गन्तब्य हुन्।
नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ।
अर्को नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन्।