२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ अब म्यासेन्जरमा खाता खोल्न फेसबुक अकाउन्ट अनिवार्य

अब म्यासेन्जरमा खाता खोल्न फेसबुक अकाउन्ट अनिवार्य

सोसल मिडिया कम्पनी फेसबुकको म्यासेन्जर तथा म्यासेन्जर लाइट एपमा खाता खोल्नका लागि अबदेखि फेसबुक अकाउन्ट अनिवार्य भएको छ ।

फेसबुक म्यासेन्जरमा अहिलेसम्म आफ्नो फोन नम्बरबाट समेत साइन अप गर्न सकिने सुविधा थियो र फेसबुक अकाउन्टसँग म्यासेन्जरलाई आबद्ध गर्ने बाध्यता थिएन । तर अबचाहिँ म्यासेन्जरमा नयाँ अकाउन्ट खोल्नका लागि आफ्नो फेसबुक अकाउन्टसँग म्यासेन्जरलाई जोड्नै पर्नेछ ।

फेसबुकले लागू गरेको नयाँ नियम केवल म्यासेन्जरका नयाँ प्रयोगकर्ताका लागि मात्रै रहेको बताइएको छ ।

अर्थात् यसअघि नै फोन नम्बरको सहयोगमा म्यासेन्जरमा खाता खोलेका प्रयोगकर्ताहरू यो नयाँ परिवर्तनबाट प्रभावित हुने छैनन् । त्यसैले फोन नम्बरबाट म्यासेन्जरमा साइनअप गर्ने पुराना प्रयोगकर्ताहरूले आफ्नो म्यासेन्जरलाई फेसबुक अकाउन्टसँग लिंक गर्नु आवश्यक छैन ।

यद्यपि, पुराना म्यासेन्जर प्रयोगकर्ताका लागि नयाँ नियम लागू नहुने फेसबुकले बताएता पनि कतिपय पुराना म्यासेन्जर प्रयोगकर्ताहरूले फोन नम्बरबाट म्यासेन्जरमा लगइन गर्न समस्या उत्पन्न हुन थालेको गुनासो गरिरहेका छन् । तर यस्तो समस्या फेसबुकले लागू गरेको नयाँ नियमका कारणभन्दा पनि बगका कारण उत्पन्न भएको हुनसक्ने बताइएको छ ।

फेसबुकले आफ्ना मुख्य एपहरू फेसबुक, म्यासेन्जर, ह्वाट्सएप तथा इन्स्टाग्रामलाई एकीकृत गर्ने योजना बनाइरहेको खबर केही समयअघि आएको थियो ।

पछिल्लोपटक उसले लागू गरेको उक्त नयाँ नियम फेसबुकको सोही योजनाको एक भाग रहेको कतिपयले अनुमान गरेका छन् । अहिले ह्वाट्सएपका प्रयोगकर्ता डेढ अर्ब छन् भने मेसेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ता क्रमशः १ अर्ब ३० करोड र १ अर्ब रहेका छन् ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु