गृहपृष्ठ अमेरिकामा बन्दुकधारी द्वारा गोली चलाउदा कम्तिमा ८ को ज्यान गयो
अमेरिकामा बन्दुकधारी द्वारा गोली चलाउदा कम्तिमा ८ को ज्यान गयो

अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीहरुले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन्।
प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएका छन् । एक प्रत्यक्षदर्शी जेरेमी मिलरले स्थानीय विस–टिभीलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले स्वचालित राइफलबाट गोली चलाएको देखेको बताएका छन्।
प्रहरी प्रवक्ता जेनी कूकले पत्रकारहरुसँग कुरा गर्दै प्रहरी तत्कालै घटनास्थलमा पुगेको र कारबाही थालेको बताउनु भएको छ । उहाँले भन्नुभयो, गोली चलाउने व्यक्तिले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। प्रहरीले उक्त गोलीकाण्डमा धेरै व्यक्तिलाई गोली लागेको र घाइतेहरुलाई तत्कालै अस्पताल पु¥याइएको जनाएको छ।
फेडेक्सका एक प्रवक्ताले कार्यालयमा गोली चलेको र आफूहरुले प्रहरीलाई मद्दत गरिरहेको जानकारी दिएका छन्। सामान ढुवानी गर्ने फेडेक्स कम्पनीको इन्डियानापोलिसमा मात्र चार हजारभन्दा बढी मानिसले काम गर्दछन् ।
गत महिना पनि दक्षिणी क्यालिफोर्नियामा भएको यस्तै आक्रमणमा एक बच्चासहित चार व्यक्तिको गोली लागेर ज्यान गएको थियो। मार्च २२ मा पनि कोलोराडो राज्यको बाउल्डरमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो।