Covid-19
City Express

अमेरिकी रास्ट्रपति ट्रम्पद्वारा विश्व स्वास्थ संगठनसँग सम्बन्ध तोड्ने घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध अन्त्य गर्न गइरहेको घोषणा गरेका छन् । संयुक्त राष्ट्र संघको एजेन्सीको कोष राष्ट्रपति ट्रम्पले यसअघि नै बन्द गरिसकेका छन्। डब्लूएचओ कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न सुरुबाट असफल रहेको ट्रम्पको आरोप छ। उनले डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै आएका छन्।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई ब्यापक सुधारको अनुरोध गरेका थियौँ तर यस्तो गर्नमा ऊ असफल रह्यो। आजदेखि हामी विश्व स्वास्थ्य संगठनसँग हाम्रो नाता तोड्दैछौँ। अमेरिकी कोष अब वैश्विक जनस्वास्थ्यमा लगाइनेछ।

डब्लूएचओ पूरै चीनको नियन्त्रणमा रहेको छ जबकि अमेरिकाको तुलनामा उसले निकै कम रकम दिने गरेको छ।’ गत महिना राष्ट्रपति ट्रम्पले आफूलाई सुधार गर्न डब्लूएचओलाई एक महिनाको समय दिँदै सुधार गर्न नसके स्थायी रुपमा सहयोग कोष बन्द गर्ने बताएका थिए । ट्रम्पका अनुसार डब्लूएचओका गल्तीको पूरै विश्वले मूल्य चुकाउनु परेको बताएका थिए। उनले डब्लूएचओलाई चीन परस्त हुनबाट मुक्त हुनुपर्ने बताएका थिए।

ट्रम्पले आफूले माग गरेको सुधार डब्लूएचओले पुरा गर्न नसकेको र चीनसँग मिलेर कोरोनाभाइरसबारे पूरै विश्वलाई गुमराह गरेको आरोप लगाए । चीनप्रति निशाना साध्दै उनले भनेका थिए, ‘चीनले वैश्विक महामारीको सुरुवात गर्यो र यसको मूल्य एक लाखभन्दा बढी अमेरिकीले ज्यान गुमाएर तिर्न परिरहेको छ।

‘चीनमा पहिलो पटक भाइरस भेटिँदा सूचना लुकाइयो । चीनले पनि पूरा मामिलामा पारदर्शिता अपनाएन। चीन डब्लूएचओलाई हरेक वर्ष मात्र ४ करोड डलर कोष दिन्छ। यसको तुलनामा अमेरिकाले डब्लूएचओलाई हरेक वर्ष ४५ करोड डलर सहयोग गर्छ। हामीले डब्लूएचओलाई विस्तारमा हामीले चाहेको सुधारको बारेमा बतायौँ तर उसले यस्तो गर्नबाट अस्वीकार गर्यो।’ ट्रम्पले संयुक्त राष्ट्रसंघमाथि पनि प्रश्न उठाउँदै आएका छन्।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु