२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ अवैध माध्यमबाट अमेरिका छिर्न खोजेका ३५ नेपाली जर्मनीको फ्रयांकफोर्ट एयरपोर्टमा अलपत्र

अवैध माध्यमबाट अमेरिका छिर्न खोजेका ३५ नेपाली जर्मनीको फ्रयांकफोर्ट एयरपोर्टमा अलपत्र

गत बिहीबार देखि जर्मनीमा ३५ जना भन्दा धेरै नेपाली अलपत्र परेका छन्। उनीहरू जर्मनीको फ्रयांकफोर्ट एयरपोर्टमा अलपत्र परेका हुन्।

एयरपोर्टमा कार्यरत नेपाली श्याम खनालले दूतावासलाई दिएको जानकारी अनुसार ३५ जना भन्दा धेरे नेपाली त्यहाँ अलपत्र परेका हुन्।

अलपत्रमा परेका मध्ये धेरै फ्रयांकफोर्ट एयरपोर्ट हुँदै मेक्सिको छिर्ने तयारीमा थिए। तर यसरी मेक्सिको छिर्न खोज्ने केही नेपालीसँग नक्कली भिसा भएका कारण त्यहाँको अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार त्यहाँ अलपत्र परेका नेपालीले दूतावासमा निवेदन भने दिएका छैनन्। दूतावासमा जानकारी नगराएकाले उनीहरू त्यहाँ पुग्नुको कारण आफूलाई थाहा नभएको राजदूत खड्काले बताए।

बिहीबार १८ जना नेपाली मात्र अलपत्र परेको खनालले दूतावासलाई बताएका भए पनि हिजो शनिबार भने ३५ भन्दा बढी नेपाली उक्त स्थानमा अलपत्र परेको दूतावासले जनाएको छ।

दूतावासले एयरपोर्टमा अलपत्र सबै नेपालीको नामावली, नेपालको ठेगाना सहित दूतावासमा निवेदन पेस गर्न भनेको छ।

आधिकारिक रूपमा निवेदन आए पछि मात्रै आफूहरूले त्यस सम्बन्धी काम अगाडि बढाउन सक्ने राजदूत खड्काले उकेरालाई जानकारी दिए।

‘मैले गैरकानुनी तरिकाले एयरपोर्ट पुगेका नेपाली ट्रान्जिट कै भित्र राखेको भन्ने बुझेको छु, उनीहरूसँग यहाँको भिसा नभएका कारण बाहिर जान दिने त कुरै भएन,’राजदूत खड्काले भने,‘अब एयरलाइन्सले उनीहरूलाई फिर्ता गर्नु पर्ने हो, अहिले उनीहरूको यो ट्रान्जिसनको पिरियड हो।’

राजदूत खड्काले उनीहरू मस्को हुँदै फर्कन्छौ भन्ने हो भने फिर्ता गर्न सजिलो हुने बताए। तर टिकट अरू रुटको काट्नु पर्ने भएमा भने समस्या पर्ने उनको भनाई छ।

दूतावासले हिजो नै निवेदन दिन भने पनि आजसम्म आधिकारिक रूपमा निवेदन नआएको उनले बताए। नेपाली नै अलपत्र भएकोले त्यहाँको सुरक्षा स्रोतसँग भने समन्वय गरिरहेको राजदूत खड्काले बताए।

उनीहरू जर्मनी छिरेको बाटो अर्थात् मस्को हुँदै फर्कन पाउने त्यहाँको प्रहरीले दूतावासलाई बताएको छ।

तर अलपत्र परेका नेपालीले भने त्यहाँको सुरक्षा निकायलाई आफूहरू मेक्सिको हुँदै जान पाउनु पर्ने माग राखेको दूतावास श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु