गृहपृष्ठ आज मदनआश्रीत स्मृति दिवस,रहस्यमय मृत्यु ,अझै पत्ता लागेनन् दोषी
आज मदनआश्रीत स्मृति दिवस,रहस्यमय मृत्यु ,अझै पत्ता लागेनन् दोषी

आज जेठ ३ गते अर्थात् मदन–आश्रित स्मृति दिवस। विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २८ वर्ष पूरा भएको छ।
उक्त दिनको सम्झनामा नेकपा एमालेले हरेक वर्ष कार्यक्रम आयोजना गरी दुवैले दिएको योगदानको स्मरण गर्दै स्मृति दिवस मनाउँदै आएको छ।
पोखराबाट सभा सम्पन्न गरेर चितवन आउँदै गर्दा दुई नेता चढेको जीप चितवनको दासढुङ्गा भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जीप चालक अमर लामा भने जीवित थिए।
लामाको पनि २०६० सालमा हत्या भएपछि घटना थप रहस्यमय बनेको थियो। त्यसपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन।
मदनकी श्रीमती विद्यादेवी भण्डारी हाल मुलुकको राष्ट्रपति रहेकी छन्। केही विश्लेषकहरुले यो दुर्घटना नभई हत्या भएको हुनसक्ने कुरा उठाइरहँदा राष्ट्रपतिजस्तो उच्च पदमा रहँदा समेत दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन नसकेको भन्दै उनको आलोचना समेत हुँदै आएको छ।