२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ इजरायलद्वारा गाजा क्षेत्रमा थप हवाई आक्रमण,कम्तीमा १ सय ८८ को ज्यान गयो

इजरायलद्वारा गाजा क्षेत्रमा थप हवाई आक्रमण,कम्तीमा १ सय ८८ को ज्यान गयो

इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा पनि ५५ बालबालिका सहित १ सय ८८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण शुरु भएको हो।

करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए। अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरु ठूलो क्षेत्रमा फैलिएका छन्। हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो।

इजरायली सेनाले गाजास्थित नौ जना हमास कमान्डरका घरलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ। सोमबार बिहानै भएका पछिल्लो आक्रमणबाट कोही घाइते भए वा नभएको बारेमा स्पष्ट भइसकेको छैन।

आइतबार टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायलले पूर्ण क्षमताका साथ हमास लडाकू विरुद्ध आक्रमण जारी राखेको बताउँदै यस आक्रमणमा अझै केही समय लाग्ने बताएका थिए। उनले हमासका विद्रोही समूहले ठूलो मूल्य चुकाउनुपर्ने बताएका थिए।

हमासका विद्रोहीले पनि इजरायलमाथि दबाब कायमै राखेको छ। गाजा शहरका बस्तीहरुबाट हमासका लडाकूले इजरायलमाथि दिनहुँ क्षेप्यास्त्र आक्रमण गरिरहेका छन्।

यसअघि सन् २०१४ मा हमास र इजरायलबीच भिषण युद्ध भएको थियो। तर यसपटकको विनाश सन् २०१४ को भन्दा विनाशकारी रहेको दुबै युद्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अल–खातिबले बताए।त्यहाँ धेरै मानिस घर छोडेर अन्यत्र पलायन भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु