गृहपृष्ठ इटालीका १०१ वर्षे वृद्धले जिते कोरना भाइरस विरुद्धको युद्ध’
इटालीका १०१ वर्षे वृद्धले जिते कोरना भाइरस विरुद्धको युद्ध’

इटालीमा १०१ वर्षका एक वृद्ध कोरोना भाइरसबाट निको भएर घर फकेका छन् । ‘मिस्टर पी’ नाम दिइएका उनी गत साता उत्तरपूर्वी इटालीको रिमिनी सहरको एक अस्पतालमा कोरोना भाइरस संक्रमणको कारण भर्ना भएका थिए ।
उनी बिहीबार निको भएको रिमिनीका सहायक मेयर ग्लोरिया लिसीले बताएको द साइन्स टाइम्सले जनाएको छ । लिसीका अनुसार यो निकै असामान्य घटना हो ।
उनी सन् १९१९ मा जन्मेका थिए । त्यो समयमा स्पेनिस फ्लुको महामारी चलिरहेको थियो । फ्लुका कारण विश्वभर तीन देखि पाँच करोड मानिसको ज्यान गएको थियो । उनी पहिलो र दोस्रो विश्वयुद्ध हुँदै हुर्केका थिए ।
अहिले उनी कोरोना भाइरसबाट निको हुने इटालीको सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । इटालीका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उनी सन् १९१९ मा जन्मिँदा स्पेनिस फ्लुको महामारी उनको गाउँमा पनि थियो । त्यतिबेला इटालीमा करिब ६ लाख मानिसको ज्यान गएको थियो ।
सहायक मेयर लिसी यसरी वृद्ध मानिसहरु कोभिड–१९ बाट निको हुनु सबैका लागि एक शिक्षा पनि भएको बताउँछिन् । ६५ वर्ष कटेका मानिसमा यो रोग निको हुने सम्भावना कमजोर देखिरहेको अवस्थामा सय वर्ष कटेका मानिस निको भएर जानुले अन्य बिरामीमा पनि आत्मविश्वास बढ्ने उनको भनाइ छ ।
कोभिड–१९ को महामारी विश्वभर फैलिइरहेको अवस्थामा यत्रतत्र नकारात्मक समाचारहरु फैलिएका छन् । यस्तो अवस्थामा १०१ वर्षको मानिसको भाइरसविरुद्धको लडाइँले सबैलाई प्रेरणा मिल्न सक्ने बताइएको छ । इटालीको तथ्यांक अनुसार यो भाइरसबाट ज्यान गुमाउनेमा ७० वर्ष कटेका मानिसको दर ८६ प्रतिशत छ ।