गृहपृष्ठ एक नेपाली हस्त गौतम जसले अमेरिका छिराउने नाममा सयौं नेपालीहरु ठगे
एक नेपाली हस्त गौतम जसले अमेरिका छिराउने नाममा सयौं नेपालीहरु ठगे

सरीशा अछामी,काठमाडौ :अमेरिका बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका नेपाली मूलका अमेरिकन नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमले सयौं नेपालीलाई ‘तल्लो बाटो’ हुँदै अमेरिका पुर्याउने नाममा ठगेको खुलेको छ।
हस्तले आफूले अवैध बाटो हुँदै सयौं नेपालीलाई अमेरिका पुर्याएको प्रहरीसमक्ष स्वीकार गरेका छन्। साथै उनले अवैध बाटो हुँदै अमेरिका पुग्ने पहिलो व्यक्ति भएको पनि दाबी गरेका छन्।
उनी सन् २००५ मा अवैध बाटो हुँदै अमेरिका प्रवेश गरेका हुन्। तर उनी पहिलोपल्ट अमेरिका पुगेका भने होइनन्।
उनी वि.स २०२८ सालमा तत्कालीन रूकुम जिल्ला स्यालापाखा गाविस -९ नाथीगाड र हाल सिस्ने गाउँपालिका-४ मा पुर्वी रूकुममा हस्त जन्मेका हुन्।
सकुशल जन्मेका हस्त चार वर्षको उमेरमा पोलियो भएपछि दुवै खुट्टा नचल्ने भएका थिए। शारीरिक रूपमा अपांग भएकाले उनी राष्ट्रिय अपांग महासंघमा जोडिएका थिए।
त्यतिबेला उनीसँग चिनजान भएका स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठ भन्छन्, ‘वि.स. २०५० सालमा भेट्दा हस्त अपांग महासंघका महासचिव थिए।’
उनी शारीरिक रूपमा अपांग भए पनि बौद्धिक रूपमा बलिया थिए।
त्यतिबेला उनी ह्विलचियर चढेर हिँड्ने गर्थे। तर पनि पटक-पटक लठ्ठीको सहारामा हिँड्नका लागि शरीरलाई जोड दिने गरेका थिए। यद्यपि त्यो सफल भने भएन।
शारीरिक रूपमा अपांग भए पनि उनी सक्रिय थिए। सन् १९९४ मा मेक्सिकोमा अपांगता भएका व्यक्तिहरूका लागि ‘पारा ओलम्पिक’ थियो। अपांगता भएका व्यक्तिहरूको खेलकुदलाई पारा भनिन्छ। त्यसमा उनले जाने अवसर पाएका थिए।
अध्यक्ष श्रेष्ठका अनुसार मेक्सिको गएर फर्किएपछि उनी विभिन्न देशमा जाँदा सहयोगी लिएर जाने र उतै छोड्ने गरेका थिए।
सन् १९९४ मा ओलम्पिकको लागि अमेरिका पुगेको मानव बेचबिखन अनुसन्धान ब्युरोले पुष्टि गरेको छ। तर महासंघका अध्यक्ष देवीदत्त आचार्यले ३० वर्षअघिको कुनै पनि दस्ताबेज नभएकाले यो विषयमा केही भन्न नसक्ने बताए।
‘उहाँ केन्द्रीय समितिमा भएको कुरा खुलेको छ। बाँकी केही जानकारी छैन,’ उनले भने।
हस्तले प्रहरीलाई बयान दिए अनुसार सन् १९९४ मा पहिलोपल्ट पारा ओलम्पिकका लागि मेक्सिको पुगेको बताएका छन्। त्यतिबेला उनी मेक्सिको पुग्दा मान्छेहरू दिनभर टेक्सासमा काम गरेर साँझ मेक्सिको फर्किएको दृश्य देखेका रहेछन्।
त्यस्तो दृश्यले उनलाई मेक्सिकोसम्म पुगे त्यहाँबाट सजिलै अमेरिका पुग्न सकिने रहेछ भन्ने थाहा भयो। त्यसपश्चात त्यहाँबाट फर्किएको ९ वर्षमा सन् २००५ मा अवैध बाटो हुँदै अमेरिका पुगेको मानव बेचबिखन ब्युरोलाई बताएका छन्।
त्यतिबेला उनीमात्र गएनन्। उनले श्रीमती र एक वर्षकी छोरी पनि लिएर गएका थिए। अहिले उनका दुई सन्तान र श्रीमती टेक्सासमै छन्। त्यसपश्चात हस्त नेपाल फर्किएका थिएनन्।
उनी अमेरिकामा नै बसेर विभिन्न एजेन्टहरूको सहायतामा अवैध रूपमा नेपालीलाई अमेरिका लैजाने र लाखौं रूपैयाँ ठगी गर्दै आइरहेको जानकारी प्रहरीलाई एकदशकअघि नै थाहा थियो। तर उनी अमेरिकामा भएकाले प्रहरीले नियन्त्रणमा लिन सकिरहेको थिएन। उनी विभिन्न सहर तथा देशमा लुक्दै बसेका थिए। त्यसैले प्रहरीलाई उचित समयको पर्खाइ थियो।