गृहपृष्ठ एनआरएनए केन्द्रीय निर्वाचन :अध्यक्षका प्रत्याशी शर्मा पुगे काठमाडौं
एनआरएनए केन्द्रीय निर्वाचन :अध्यक्षका प्रत्याशी शर्मा पुगे काठमाडौं

काठमाडौं : गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्मा काठमाडौं आइपुगेका छन् । एनआरएनएको विश्व सम्मेलन र नयाँ नेतृत्व चयनमा भाग लिन शर्मा कतारबाट सोमबार काठमाडौं आइपुगेका हुन् ।
शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए अभियन्ता शर्माका समर्थकले स्वागत गरेका थिए। विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैं शर्माले आफू ४० देशको पुगेर गैरआवासीय नेपालीहरूसँग भेटेको र विश्वभरमा बस्ने सबै गैरआवासीय नेपालीको साथ सहयोग लिएर सम्मेलन सफल बनाउन आएको बताए।
“तीन महिनामा करिब ४० देश पुगेर गैरआवासीय नेपालीहरूको सम्भावना र समस्याको बारेमा गहन जानकारी लिएर आइपुगेका छु,”शर्माले विमानस्थलमा भने,“सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीको चाहनामा म अध्यक्षको प्रत्याशी बनेको हो,सबैको साथ र सहयोग मिलेको छ।”
शर्माले गतसाता आफ्नो कर्मभूमि कतारबाट २४ महिनामा २४ काम गर्ने बाचा सहित आफ्नो अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । शर्माको उम्मेदवारीले विश्वमा बस्ने सबै क्षेत्रका नेपालीले समर्थन गरेका छन्।
२४ महिनामा हुने घोषणापत्रमा एनआरएनएको एकता गर्ने,रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लगाउने,विदेशबाट फर्कनेलाई उद्यमी बनाउने,महिला तथा दोस्रो पुस्ताका एनआरएनलाई अभियानमा सहभागिता बढाउने लगायतका योजना समेटेका छन्।
यस्तै खेलकुद सांस्कृतिक कार्यक्रमलाई बढावा दिने,नेपाली कृषि उद्यम निर्यात प्रवर्द्धनको कार्यक्रमलाई बढाउने तथा पर्यटन प्रवर्द्धन जलविद्युत् लगायतका क्षेत्रमा लगानी बढाउने योजना शर्माले अगाडि सारेका छन्।
स्थापनाको २० वर्ष पुगेको एनआरएनए अभियानको सामाजिक कार्यक्रमलाई निरन्तरता दिएर आर्थिक मुद्दामा अभियानमा हिँडाउने बाचा शर्माले गरेका छन्।
गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन आगामी असोज ३० देखि काठमाडौंमा हुने छ । सम्मेलनले आगामी २ वर्षको कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । यो पटकको नेतृत्व चयनको मतदान काठमाडौंमा भौतिक रूपमा र मतदाता नेपालमा नआएमा अनलाइनबाट गर्न सकिने व्यवस्था छ।