गृहपृष्ठ एनआरएनए पोर्तुगलद्वारा आज पहिलो दिन ४५ जनालाई राहत वितरण
एनआरएनए पोर्तुगलद्वारा आज पहिलो दिन ४५ जनालाई राहत वितरण

राजकुमार थापा/ कलश खरेल, लिस्बन, पोर्तुगल । एनआरएनए पोर्तुगलले कोरना भाइरसबाट उत्पन्न संकटबाट समस्यामा परेका पोर्तुगलका नेपालीहरुलाई राहत वितरण शुरु गरेको छ । आज मार्च २९ तारिख पहिलो दिन ४५ जनालाई राहत वितरण गरिएको छ । राहत एनआरएनए पोर्तुगलको कार्यालय लिस्बनबाट वितरण गरिएको थियो ।
पोर्तुगलमा भर्खरै आएका, रोजगारी नभएका अति समस्या रहेका नेपालीहरुलाई प्राथमिकताको आधारमा राहत वितरण गरिएको राहत वितरण समन्वय समितिका संयोजक बिक्रम जंग कुँवरले बताए ।

एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापा, महिला उपाध्यक्ष सीता श्रेष्ठ, कोषाध्यक्ष एवं सहयोग समिति संयोजक विक्रमजंग कुँवर, युवा संयोजक एवं सहयोग समिति उपसंयोजक दीनेश भण्डारी तथा सदस्यहरु दीपक खत्री, सुमन शर्मा चौलागाईं र कार्यालय प्रमुख श्याम श्रेष्ठको सक्रिय अगुवाईमा राहत वितरण गरिएको थियो ।
राहत आवश्यक भएका मानिसहरुको नाम संकलन गरेर फेरि राहत वितरण कार्यक्रम जारी राखिने वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले जानकारी दिए ।

राहत प्राप्त गर्न धेरै महिला दिदीबहिनीले पनि चासो राख्नु भएको र आजपनि केही आउनु भएको महिला दिदीबहिनी र असक्तहरुलाइ पहिलो प्राथमिकता दिइने महिला उपाध्यक्ष सीता श्रेष्ठले बताइन ।
राहत स्वरुप चार किलो चामल, एक लिटर तेल, दाल, स्पाकेटी, नुन लगायतका खाद्यान्न वितरण गरिएको सदस्य दीपक खत्रीले जानकारी दिए ।

राहत वितरणलाई लिस्बनमा मात्र नभएर लिस्बन बाहिर अल्गार्भ र अलेन्जेजु क्षेत्रीय समितिहरुले पनि तयारी गरेको र समस्या परेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ आआफ्नो पायक पर्ने स्थानबाट राहत प्राप्त गर्न अध्यक्ष तिलक गैरेले आह्वान गरेका छन् ।
