२०७७ माघ ७ गते बुधवार | January 20, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ एनआरएनए पोर्तुगल अध्यक्ष गैरेको संयोजकत्वमा स्व. बानियाँको शव ब्यबस्थापनका लागि समिति गठन

एनआरएनए पोर्तुगल अध्यक्ष गैरेको संयोजकत्वमा स्व. बानियाँको शव ब्यबस्थापनका लागि समिति गठन

लिस्बन/अलेन्तेजु । गत जून १२ तारिख पोर्तुगलको सानआन्तनियोमा  असामयिक निधन भएका म्याग्दीका ४१ बर्षिय स्व.गणेश बानियाँको शव ब्यबस्थापन र अन्तिम संस्कार गर्न एनआरएनए पोर्तुगल अध्यक्ष तिलक गैरेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको जानकारी प्राप्त भएको छ । समितिमा अशोक घिमिरे, वकिल केसी, शिव वाग्ले, टीकाराम सुवेदी, मणि पौडेल र काशिराम वन सन्यासी रहेका छन् । अन्तिम संस्कार आउने शुक्रबार सम्म हुने सम्भावना रहेको एनआरएनए पोर्तुगल अध्यक्ष गैरेले बताए ।

मृतक बानियाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज अलेन्तेजुमा एनआरएनए पोर्तुगलका संस्थापक अध्यक्ष पूर्ण हमालको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा एनआरएनए पोर्तुगल अध्यक्ष तिलक गैरे, पूर्व आसिसी सदस्य सूर्य हमाल, कन्सुलेट प्रतिनिधि अशोक घिमिरे, जसस उपाध्यक्ष वकिल केसी, एनआरएनए अलेन्तेजु अध्यक्ष शिव वाग्ले, एनआरएनए पोर्तुगल सदस्य गणेशदत्त शर्मा, मोना अलेन्तेजु अध्यक्ष मणि पौडेल, जसस पोर्तुगल कोषाध्यक्ष टीकाराम सुवेदी, मृतक बानियाँकी छोरी सुश्री सिजु बानियाँ, कासिराम वन सन्यासी, विरोध सुवेदी लगायतको उपस्थिति थियो ।

नेपाली जनसम्पर्क समिति अलेन्तेजु क्षेत्रीय समितिका पूर्व महामन्त्री स्व. बानियाँ सो क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आएका थिए । हिजो बिहान ७ बजे घरबाट दुरुस्त अवस्थामा निस्किएका उनी ९ बजे तिर सानआन्तनियो भन्ने ठाउँको बाटोमा लडेको भेटिएका थिए । उक्त स्थान जंगलको छेउ र एकान्त रहेको बुझिएको छ । उनी लडिरहेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । GNR को टोली आएर उनलाई ओदिमेराको हस्पिटल पुर्याउदा डाक्टरहरुले उनको केही घण्टा पहिल्यै मृत्यु भैसकेको भन्ने घोषणा गरेका थिए ।

म्याग्दी जिल्ला घर भएका बानियाँ केही दिन अघि सोही क्षेत्रमा मृत्यु भएका दीपक बानियाँका १३ दिने दाजुभाइ र नाताले भतिज पर्ने बताइएको छ । दीपक बानियाँको हिजो अन्तिम संस्कार भइरहेका बेला उनको मृत्युुको खबर आएको र आफू हस्पिटल, प्रहरी र उनी बसेको घर सबै ठाउँ पुगेर मृतक र स्थितिको बारेमा जानकारी लिएको एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु