२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ कडा र रोमाञ्चक प्रतिस्पर्धाका बीचमा अर्जेन्टिना पुग्यो सेमिफाइनलमा

कडा र रोमाञ्चक प्रतिस्पर्धाका बीचमा अर्जेन्टिना पुग्यो सेमिफाइनलमा

रोमान्चक र नाटकीय खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ।

टाइब्रेकरमा ४-३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना उपाधिनजिक पुगेको हो।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो। एक समय २-० को आरामदायी अग्रतामा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले नाटकीय पुनरागमन गरेको थियो।

इन्ज्युरी समयको दशौं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको डच टोली टाइब्रेकरमा भने सफल हुन सकेन।

टाइब्रेकरमा नेदरल्यान्ड्सका लागि कप्तान भर्जील भान डाइकले पहिलो प्रहारमा गोल गर्न सकेनन्।

अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले आफ्नो दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै गोल बचाए। लगत्तै अर्जेन्टिनी कप्तान मेस्सीले सहजै गोल गरेर दक्षिण अमेरिकी टोलीलाई अघि राखे।

मार्टिनेजले डच टोलीका लागि स्टिभन बर्घिअसले गरेको दोस्रो प्रहार पनि विफल पारे। यसपटक आफ्नो बायाँतर्फ डाइभ दिँदै उनले नेदरल्यान्ड्सलाई गोल गर्न दिएनन्।

अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले दोस्रो प्रहारमा पनि गोल गर्दै २-० ले अघि बढाए।

त्यसपछि डच टोलीका लागि तिउन कुपमेनर्स, अर्जेन्टिनाका गोन्जालो मोन्टिएल र नेदरल्यान्ड्सका वुट वेघर्स्टले गोल गरे।

अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजको प्रहार बाहिर गएपछि नेदरल्यान्ड्सले खेलमा फर्कने अवसर पाएको थियो।

लुक डे जोङले आफ्नो पाँचौ प्रहारमा गोल गर्दै खेललाई टाइब्रेकरको अन्तिम पेनाल्टीसम्म पुर्याए। तर लौटारो मार्टिनेजले अन्तिम पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु