गृहपृष्ठ केजिन राई युरोपको नेपाली पत्रकारितामा अग्रज धरोहर, संघर्ष र निष्ठाको पर्याय
केजिन राई युरोपको नेपाली पत्रकारितामा अग्रज धरोहर, संघर्ष र निष्ठाको पर्याय

राईको व्यक्तित्व र जीवन यात्रा
केजीन राई भन्ने बित्तिकै युरोपमा नेपाली पत्रकारिताको जग बसाल्ने एक मुख्य अगुवा, धरोहर र सुत्रधारको रूपमा चिन्ने गरिन्छ। राईका लागि यी शब्दको प्रयोग अतिसयोक्ति होइन बरु अत्यन्त उपयुक्त नै हो भन्ने लाग्छ। पत्रकारका अलवा उनी अरु जस्तै घर, व्यवहार, परिवार भएका एउटा मानिस पनि हुन्।
एउटा सामान्य व्यक्तिलाई जस्तै उनलाई पनि कहिलेकाँही रिस,आक्रोश,आवेग पनि त आउँछ होला, तर आफ्नो पेशागत धर्म र कर्मले यस्तो रिस, आक्रोश, आवेग व्यक्त गर्ने उनले सायदै फुर्सद पाए होलान्।
हालको प्रदेश नम्बर एकको एउटा पहाडी जिल्ला खोटाङमा जन्मिएको राईको छोरो, नेपालमा पत्रकारितामा जमेको मान्छे, युरोप छिरे, सायद कहीं न कहीं आर्थिक पाटो र पारिवारिक बाध्यता वा अलिकति रहर पनि थियो होला।
आफ्नो परिवारलाई सबल र आर्थिक रुपमा समुन्नत गराउनु उनको आफ्नो जिम्मेवारी हुने नै भयो।
समग्र युरोपमा राईको योगदान
राईले युरोप आएरपनि पत्रकारिताप्रतिको लगनशीलता, दृढतामा कहीं कतै कमी आउन दिएनन्। अझ अगाडि बढेर भन्दा पत्रकारिताप्रतिको लगाव भनौ या नशा वा अम्मल उनले छोड्नै सकेनन् । युरोपमा नेपाली समुदायलाई सक्रिय, चलायमान र व्यापक रुपमा चिनाउने मध्येका एक कुसल नेतृत्वकर्ता हुन् केजिन राई।
नेपाल पत्रकार महासंघ युरोप शाखाको तीन पटक अध्यक्ष भएर नेतृत्व गरेका राई हाल पनि उक्त संस्थाको कावा अध्यक्ष छ्न् । राईले युरोपमा धेरै नेपाली पत्रकारहरु जन्माए, उदय गराए, बोल्न र लेख्न सक्ने मात्र बनाएनन्, युरोपमा उर्जाशील पत्रकार सृजना गर्ने पहिलो नम्बरमा नै पर्छन् उनी। पत्रकारिताको चाहना भएका तर बाटोमै अलमल्लिएका कैयौंलाई बाटो देखाए । परम्परागत शब्दमा भन्दा बाटो खन्न भौतारिरहेका, त्यसै अलमल्लिरहेका साथीहरूलाई औजार र अवसर दिए त राईले के बिराए ? पत्रकारिता गर्न चाहनेलाई वातावरण सृजना गरे, जहाँपनि हलो अड्काउन खोज्नेलाई पर राखेनन् बरु जुवाको साहारा दिए । तर ती बैगुनी तत्वहरुले आज उनलाई उनको कर्मथलो बेल्जियममै पुगेर पनि खेद्न छोडेका छैनन् ।
समाज र पत्रकारीताका लागि एक स्थापित धरोहर राई
केजिन राई युरोपको नेपाली समुदायमा एक निष्ठावान, दृढ र स्थापित धरोहर हुन् । युरोप मै केही खलपात्रहरुले उनलाई निमिट्यान्न पार्ने भन्दै धेरै करौंति चलाए, द्वन्द्व सृजना गर्न खोजे, विरोधी मोर्चा बनाए, खुट्टा ताने, अनेकौ लालछना लगाए तर ती कुतत्वहरुको केही लागेन, आफै किनारा लागे, सेलाएर, बिलाएर गए । राईलाई सिद्धाउँछु भनेर लागेकाहरु आज साहाराविहिन भएका छन्, बाटोमै हराएका छन्, रुन्चे अनुहार लगाएर त्यसै चिच्याइरहेका मात्र छन्।
राई बिनाको पत्रकारीता टुहुरो हुने सिद्ध
तर राई भने निरन्तर अगाडि बढिरहेका छन्, उनी बिनाको युरोपको नेपाली पत्रकारिता अपुरो, अधुरो र वास्तवमै टुहुरो जस्तै हुन्छ । यसको अर्थ उनको अभिभावकत्व ,अगुवाई अझै जरुरी र आवश्यक छ भन्ने बुझ्नु अपरिहार्य छ ।
राईबाट नयाँ पिढीले सिक्नु पर्ने बिषय
कालान्तरमा राई जिम्मेवारीमा होउन या नहोउन् तर उनको योगदान, समाजप्रतिको दायित्व, जिम्मेवारीवोध भावना आउने पिढीले अवश्य सिक्नु पर्छ। अझ भनौं नयाँ र युवा पुस्ताले आत्मैदेखि अंगिकार गर्नुपर्छ।
राई नेतृत्वमा आएपछि युरोप शाखाको मान्यता
युरोपको राजधानी मानिएको बेल्जियम निवासी राई अध्यक्ष बनेपछि नै नेपाल पत्रकार महासंघ युरोप शाखाले आधिकारिक मान्यता पाएको थियो। अन्तर्राष्ट्रिय पत्रकार महासंघसंग सहकार्य गरेको थियो।
‘विदेशमा पत्रकारीता बिषयमा राईको धारणा
बिबिसीमा कार्यरत नेपाली पत्रकारबाहेक विदेशमा रहेका अन्य नेपाली पत्रकार होलटाइमर होइनन्’ उनको तर्क छ, ‘विदेशमा रहेर पत्रकारिता गर्नेले यही पेसाबाट खान, बस्न र धान्न सक्ने अवस्था छैन, विदेशको हाम्रो पत्रकारिता भनेको स्वयंसेवक जस्तो हो। विदेशमा रहेर पत्रकारिता गर्ने हामीले अर्को मुख्य पेसा नगरी सुखै छैन। बाँकी रहेको समयमा पत्रकारिता गर्नुपर्ने बाध्यता छ ’ उनी भन्छन्।
राईले पत्रकारीता सुरुवाती गर्दाको क्षण
‘पत्रकारिता दुखिया पेसा हो भन्ने थाहा थियो,’ उनले अतित सुनाए, ‘थाहा हुँदाहुँदै पनि पत्रकारिता नै रोजें। लेख्ने रस बसेकाले दुःख गर्ने साहस गरें।’ नेपालमा रहँदा पत्रकारिता गर्दाको सुखदुःख उनले बिर्सेका छैनन्। उनी त्यतिबेला लोकपत्र दैनिक प्रमुख संवाददाता थिए। लोकपत्र दैनिकको अर्थ र भन्सार ‘बिट’ हेर्ने संवाददाताको नाताले सशस्त्र प्रहरी पूर्वमहानिरीक्षक दुर्जकुमार राईले घडी, सुन लिएको समयको प्रमाणसहित उनले समाचार लेखे। ‘प्रमुख संवाददाता भएकाले मैले सम्बन्धित व्यक्तिसँग बुझ्न फोन गर्दा उहाँ बोल्न चाहनुभएन। भेट्न चाहनुभएन,’ उनले विगत कोट्याए, ‘समाचार प्रकाशित भयो। समाचारमा इन्सपेक्टर किवाहाङ राईको नामसमेत जोडियो। इन्सपेक्टर राईसँग साकेलामा ललितपुरको नखिपोटमा भेट भयो।त्यहाँ उहाँ, र उहाँको परिवारलगायतले मलाई हातपात गरे।’
केजिन राईले नेपालमा सक्रिय पत्रकारिता गर्दाका समकालीनहरु टिकाराम राई, महेन्द्र विष्ट, सुधीर शर्मा, धर्मेन्द्र झाहरू त्यत्तिकै सक्रिय थिए। अहिले पनि छन्। बेल्जियममा रहेका उनी पनि निरन्तर पत्रकारिता क्रियाशील छन् र पत्रकार हकहितको पक्षमा डटेर लागिरहेका छन्। तेस्रोपटक नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्ष भइ नेतृत्व गर्नु त्यसको गतिलो प्रमाण हो। राई युरोनेपाल डटकम र इयु नेपाल डटकमका सम्पादक पनि हुन्।
स्नातकोत्तर अध्ययन गर्दैगर्दा विदेश लागेका उनी राजनीतिशास्त्रमा स्नातक हुन्।
पत्रकारीतामा नयाँ आउने पिढीको लागि उनको सुझाव पत्रकारितामा लागेपछि उनको पदचाप पछ्याउने गाउँका थुप्रै छन। ‘अहिलेको जमानामा सम्बन्धित विषयको सैद्धान्तिक अध्ययन चाहिन्छ,’ उनले सुझाए, ‘पत्रकारितामा आउँदै गरेकाले सम्बन्धित विषयको गहिरो अध्ययन गर्नैपर्छ। लेख्ने काम सामान्य होइन। पत्रकार सिर्जनशील बन्नुपर्छ। जागिरे पत्रकारिताले मात्र उसलाई सिर्जनशील बनाउँदैन।’
“दुःख गर्न नसक्नेले पत्रकारितामा लाग्ने दुस्साहस गर्न नहुने उनको भनाइ छ। रहरले पत्रकारिता गर्न खोज्नेहरू उँभो लाग्नै सक्दैनन् । पत्रकारकारितामा हन्डर, ठक्कर कठिनाई, नाम, बदनाम सबै भोग्ने मानसिक र शारीरिकरूपमा तयार हुनुपर्छ”, उनको निष्कर्ष छ।