गृहपृष्ठ कोरोना संक्रमणका कारण बाँकेमा लकडाउन
कोरोना संक्रमणका कारण बाँकेमा लकडाउन

कोरोना संक्रमणको ‘हटस्पट’ बनेको बाँकेमा स्थानीय प्रशासनले जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको छ।
प्रशासनले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि (२० गते राति १२ बजेसम्म) लकडाउन गर्ने निर्णय गरेको हो।
आइतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक कामबाहेक हिँडडुलसमेत गर्न निषेध गरिएको जानकारी गराएका छन्।
गत वैशाख ८ देखि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै लकडाउन गरिएको थियो भएतापनि जिल्लाभर नै संक्रमणको दर बढेपछि प्रशासन यो निर्णयमा पुगेको हो।
अत्यावश्यक कामका लागि प्रयोग हुने सवारीसाधनबाहेक, पसल, हाटबजार बन्द गरिएको प्रशासनले जनाएको छ।
स्वास्थ्य संस्था, शान्ति सुरक्षा, बिजुली, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य, दूध,औषधी पसल, एटिएम, सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा सञ्चालन हुनेछन्।