२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ क्वाटरफाइनलमा मोरक्को चम्कियो,ट्र्फी उचाल्ने पोर्चुगलको सपनामा धक्का

क्वाटरफाइनलमा मोरक्को चम्कियो,ट्र्फी उचाल्ने पोर्चुगलको सपनामा धक्का

रोनाल्डो रुदै बाहिर

पोर्चुगललाई स्तब्ध पार्दै कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दै मोरक्कोले नयाँ इतिहास रचेको छ।

अल थुमामा स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १-० ले हरायो। यस जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको।

इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश खेलाडीमा रहेर खेल अन्त्य गरेको थियो।

अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गरेको मोरक्कोले जारी विश्वकपमा ठूला टिमहरुलाई माथ दिँदै आएको छ।

त्यसक्रममा क्वाटरफाइनलमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गर्‍यो।

मोरक्कोले अब साविक विजेता फ्रान्स र अर्का पूर्व विजेता इंग्ल्याण्डबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा खेल्नेछ।

मोरक्कोलाई ऐतिहासिक सफलता दिलाउन क्रममा युसुफ एन नेस्रीले निर्णायक गोल गरे। उनले ४२औं मिनेटमा अतिहा अल्लाहको पासमा गोल गरेका थिए।

त्यसपछि पोर्चुगलले बराबरी गोल फर्काउन सबैखाले प्रयास गर्‍यो। तर सफल हुन सकेन। कप्तान क्रिस्टियानो रोनाल्डोलाई लगातार दोस्रो खेलमा बेन्चमा राख्दै पोर्चुगल मोरक्को विरुद्ध मैदान उत्रेको थियो।

तर गोल खाएपछि प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई दोस्रो हाफमा मैदान पठाए।

यस्तै उनले भिटिन्हा, राफेल लियाओ र रिकार्डो होर्थालाई पनि दोस्रो हाफमा मैदान उतारे तर गोल भएन।

अघिल्लो खेलमा रोनाल्डोको स्थानमा पहिलो रोजाईँमै खेल्दै कतार विश्वकपमा पहिलो ह्याट्रिक गरेका गोन्सालो रामोसले मोरक्को विरुद्ध पहिलो रोजाईँमा खेलेका थिए। तर उनले गोल गर्न सकेनन्।

इन्जुरी टाइममा मोरक्कोका अबोउखलाल जाकारियाले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन्।

५१औं मिनेटमा रुबेन नेभेसको स्थानमा मैदान प्रवेश गर्दै ३७ वर्षीय रोनाल्डोले भने व्यक्तिगत उपलब्धी हासिल गरे। उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १९६ खेल खेल्ने पुरुष खेलाडीको कीर्तिमान बराबरी गरे।

कुवेतका बाडेर अल मुटावाको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान रोनाल्डोले बराबरी गरेका हुन्। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ११८ गोल गरेका छन्।

उनले जारी विश्वकपमा पहिलो खेलमा घाना विरुद्ध पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि गोल गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु