गृहपृष्ठ गर्भवतीको पेटभित्रै बच्चाको ज्यान गएपछि हेलिकप्टरबाट उद्दार गरियो
गर्भवतीको पेटभित्रै बच्चाको ज्यान गएपछि हेलिकप्टरबाट उद्दार गरियो

खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्माको बच्चा पेटभित्रै मरेपछि सिकिस्त बिरामी बनेकी गर्भवतीको हेलिकोप्टरबाट उद्दार गरिएको छ।
१९ वर्षीया विश्वकर्माको बच्चा पेटभित्रै मरेपछि गर्भवतीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौँ पठाइएको हो। मन्दिराको अत्याधिक रक्तश्राव भइरहेकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डाक्टर नारायण बरालले बताए।
बरालका अनुसार गएराति अबेर अस्पताल ल्याइएकी मन्दिराको बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरिएको छ।गर्भवती मन्दिराको रक्तश्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्नेहुँदा थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसुतिगृह रिफर गरिएको डाक्टर बरालले जानकारी दिए।
दोस्रो पटक गर्भवती हुनुभएकी मन्दिरालाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत ग्राण्डी हस्पिटलको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौँ पठाइएको जनाइएको छ। कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी मन्दिराको तीन वर्षीय छोरा छन्।
मन्दिराको उद्दार, उपचार लगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए। सांसद भट्टराईका अनुसार काठमाडौँ अवतरण हुनासाथ अस्पताल भर्ना गरेर उपचार शुरु गरिएकी मन्दिराको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको वताएका छन्।
केही दिनदेखि लगातार परिरहेको वर्षा र बाक्लो हुस्सुका कारण समयमा हेलिकोप्टर अवतरण गर्न नसक्दा सुत्केरीको उद्दारमा ढिलाइ भएको जनाइएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत मन्दिरासँगै हालसम्म जिल्लाका चार जना सुत्केरीको हेलिकोप्टरमार्फत उद्दार गरिसकिएको छ।
श्रोत:जनबोलि