गृहपृष्ठ तोकिएको समयमा नेपाली कांग्रेसको महाधिवेशन नहुने संकेत
तोकिएको समयमा नेपाली कांग्रेसको महाधिवेशन नहुने संकेत

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिले निर्धारण गरेको समय अनुसार क्षेत्रीय र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको विवरण सूचीकृत नगरेसँगै कार्यतालिका प्रभावित बनेको हो।
नयाँ सदस्यको नाम ‘इन्ट्री’ गर्ने अधिकार क्षेत्रीय कार्यसमितिलाई छ भने नवीकरणको अधिकार जिल्ला कार्यसमितिलाई छ। नयाँ र पुराना दुवैको नाम ‘इन्ट्री’ गर्न यस पटकदेखि प्रविधिको विकास गरिएको छ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लालाई नवीकरण र नयाँ सदस्यता वितरणको समयावधि फागुन २८ सम्मलाई छुट्याइएको थियो। एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाले केन्द्रमा नाम पठाउने अवधि चैत्र १० गतेसम्मलाई तोकिएको थियो। निर्धारित मितिमा क्रियाशील सदस्यताको कार्य टुंगिन नसकेसँगै अन्य कार्यतालिका प्रभावित हुने भएको छ।
सदस्यता टुंगिएको भए हाल जिल्ला तहले छानबिनका लागि परेका उजुरीउपर प्रारम्भिक अध्ययन गर्ने समय थियो। प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची केन्द्रमा पठाउने अवधि चैत अन्तिमसम्मलाई तोकिएको थियो। प्रारम्भिक छानबिनको चरणमा कार्यतालिका प्रवेश गर्नै पाएको छैन।