गृहपृष्ठ दुख:द खबर :लन्डनमा एक नेपालीको हत्या
दुख:द खबर :लन्डनमा एक नेपालीको हत्या

लन्डनमा एक नेपालीको हत्या भएको छ। आइतबार राती करिब साढे १० बजे लन्डन इस्टकोट स्टेशन अगाडि झगडा हुंदा ३५ वर्षीय विक्रम केसीको हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए।
उनी एक रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत थिए।सामान्य भनाभनमा मुश्लिम समुदायका एक २१ वर्षीय युवाले कुटपिट गरेपछि उनको घट्नास्थलमै निधन भएको तिमल्सेनाले बताए। ति युवक अहिले प्रहरी हिरासतमा छन्।
सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ति अपरिचित युवाबीच वादविवादपछि झडप भएको जनाइएको छ। झगडाको कारण भने खुल्न सकेको छैन्। प्रहरीले घट्नाबारे अनुसन्धान शुरु गरेको छ।
‘आफ्नी श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्’, एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाले भने, ‘आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टेशनतिर निस्कंदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन्। प्रहरीसंग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरे।’
स्टेशनबाट केसीको घर करिब दुई मिनेट दुरीमा अवस्थित छ। स्वर्गीय केसी भारत, कुवेत हुंदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लन्डन आएका थिए। ‘इण्डो चाइनिज’ खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किड आदि रेष्टुरेन्टमा काम गरिसकेका थिए।
काठमाडौं घर भएका केसी श्रीमती र भाइ बुहारीका साथ लन्डनमा बस्थे। एकजना निर्दोष साथीको हत्याको खबर सुनेपछि बेलायतका नेपाली सेफहरु स्तब्ध भएका छन्।