गृहपृष्ठ धन कमाउने आशमा विदेशिएका १९ नेपाली पोर्चुगलमै अस्ताए,परिवारको सपना भयो अधुरै
धन कमाउने आशमा विदेशिएका १९ नेपाली पोर्चुगलमै अस्ताए,परिवारको सपना भयो अधुरै

जन्मभुमी र आफन्त को माया मुटुभरी बोकेर गहभरी आँसु पार्दै विदेशिने रहर सायद कसैलाई हुँदैन। तर कम बिकसित मुलुकका नागरिकहरूको लागी यो एउटा बाध्यता बनेर उभिएको छ। देशमा बढ्दो बेरोजगारीबाट पिल्सिएर अन्य कम बिकसित मुलुकका नागरिकहरू जस्तै हामी नेपाली पनि रोजगारीको खोजीमा विदेशिन बाध्य छौं।
दुख – सुखमा सन्तानबाट साहाराको अपेक्षा गरी बसेका ति डुब्नै लागेको घाम जस्ता बाबा आमा, परिवार, आफन्त, ईष्टमित्र, साथीभाई सबैलाई छोडेर मात्र धन कमाउने सपना बोकी लाखौ नेपालीहरु विदेशिने गर्दछन्। ठुलो देशमा गए सेवा- सुविधा धेरै पाईने र प्रशस्त धन पनि कमाउन सकिने प्रलोभनमा सबै जना फसेकै हुन्छन्।
प्रक्रिया पुरा गर्दै जाँदा केही समय पछि परिवारकै साथमा बस्न सकिने गाँस, बाँस, कपास लगायत शिक्षा, स्वास्थ्य, रोजगारी जस्तो महत्वपूर्ण बिषयहरुमा पनि सम्बन्धित देशकै नागरिक सरह सेवा सुबिधा उपलब्ध हुने भएको हुँदा पछिल्लो समय सबैको रोजाईमा युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूनै पर्ने गरेको पाईन्छ।
“म नेपाली हु मलाई मेरो देशको माया छ” भने जस्तै विश्वको जुनसुकै भुगोलमा रहे पनि हरेक नेपालीलाई आफ्नो मातृभूमि प्राण भन्दा प्यारो लाग्दछ।आफन्तको यादले उत्तिकै सताएको हुन्छ। डाँडापारीको घाम जस्तै भएका बाबा, आमा भेट्न पाउँछु कि पाउँदिन!
जन्मभुमी फर्किने दिन कहिले आउला भनी प्रदेशिएको दिन गन्दै जन्मभुमी फर्किएर आफन्त सँग भेटघाट गर्ने रहर मनमा बोकी अनेक पिडा हरू आफैं भित्र दबाएर दिन रात नभनी खट्नु पर्ने बाध्यता सिर्जना हुन्छ।
तर त्यो प्रदेशीले कल्पना सम्म गर्न सक्दैन् कि वृद्ध बाबा, आमाहरू अस्ताई सकेको खबर आउँछ।कति आफन्त, साथीभाई, ईष्टमित्रहरू आफु देखि सधैको निम्ति टाढा भएका हुन्छन् तर पनि उ फर्किन सक्दैन।
ऊ आफ्नै समस्यामा अल्झिएको हुन्छ ,आफ्नै बाध्यता भित्र बाँधिएको हुन्छ। सपनाहरू सजाउँदा सजाउँदै, रहरहरू पुरा गर्न खोज्दा खोज्दै,दायित्व पुरा गर्ने दौडानमा दौंडिदा दौडिंदै पत्तै नपाई उसैले संसार छाडेको हुन्छ। “प्रदेशिको सपना सपनामै सिमित रहन्छ “।
पोर्चुगलमा पछिल्लो समय यस्तै दुखद घटनाहरु भैरहेका छन्। उसो त अन्य मुलुकहरूमा पनि नेपालीहरूको निधन नभएको होइन। धन कमाउने सपना बोकेर घर छोडी विदेशिएका युवाहरू बाकसमा बन्द भएर दैनिक जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिरहेको दृश्यले तपाई हामी सबैलाई स्तब्ध बनाउने गर्दछ।
त्यही माथि आँफै बसेको मुलुकमा आँखा अगाडि एक पछि अर्को गर्दै दिनप्रतिदिन जस्तो भैरहेको नेपालीहरूको निधनले मर्माहत बनाएको छ। अनेक सपना सजाउँदै आकाशिएका युवाहरूलाई बाकसमा बन्द गरेर फिर्ता पठाउनु पर्ने बाध्यता सिर्जना भैरहेको छ।
कतिपय परिवारले शब मात्र पाएका छन् भने शब पठाउन अत्याधिक खर्च लाग्ने, सबैको शब पठाउदा आर्थिक अवस्थाले समस्या हुने भएकोले कतिपय परिवारमा न सास न लाश भएको छ।
भौतिक शरिर सँगै सजाएका हरेक सपनाहरु पोर्चुगलकै माटोमा बिलिन हुन पुगेका घटनाले पोर्चुगल स्थित सम्पूर्ण नेपालीहरूलाई दिनप्रतिदिन स्तब्ध बनाईरहेको छ।
२०२१फेब्रुअरी २६ तारिख शुक्रवारको दिन अचानक निधन भएका बागलुङका कुवीर मल्ल , जनवरी २२ मा निधन भएका प्रेम प्रकाश फुयाँल सहित २०१९ अगस्ट २६ पछि एनआरएनए पोर्चुगलका वर्तमान अध्यक्ष तिलक गैरेको कार्यकाल सुरू भए देखि अहिले सम्म विभिन्न कारणबाट १९ जना नेपालीले ज्यान गुमाइसकेको अध्यक्ष गैरेले बताउनु भयो।
पछिल्लो समयमा विश्व महामारीको रूपमा फैलिरहेको कोभिड-१९ ले युरोपका विभीन्न देशहरूलाई आक्रान्त बनाईराखेको छ। फलस्वरूप पोर्चुगलमा पनि धेरै रेस्टुरेन्टहरु, उद्योग कलकारखानाहरु एवं कम्पनीहरु, ब्यापार, ब्याबसायहरु ठप्प छन्।
साथै केही कृषि कम्पनीहरु समेत बन्द छन्। जसका कारण यहाँ रहेका आप्रवासी लगायत नेपालीहरुलाई काम र रोजगारीको समस्या समेत परेको छ। जसको प्रत्यक्ष असर नेपाली समुदायमा समेत परेको छ। यसबाहेक विभिन्न समस्याहरुका कारणले पनि धेरै नेपालीहरुका दु:खद घटना समाचारहरु आइरहेका छन्।