Covid-19
City Express

‘नमस्कार’ अभिवादन !

नमस्कारको भावार्थ हो– सम्मान गर्नु । हाम्रो मन, आवाज र मुद्राले गर्न सकिने प्रणामलाई हामी नमस्कार भन्छौँ । मान्यजनलाई देख्नासाथ झुकेर आदर र सम्मान गर्ने यो चलन सनातनदेखिकै हाम्रो परम्परा हो । ‘नमस्कार’ शब्द संस्कृत हो । नमःको अर्थ म नमन गर्छु । अथवा म झुक्छु । अथवा मेरो अहङ्कार झुक्यो भन्ने हुन्छ । तन्त्रविद्का अनुसार ममा भएको उज्यालो तिमीमा भएको उज्यालोसँग मिल्छ, तिमी र ममा भेद छैन भन्ने गहिरो कामना नै नमस्कार हो । हाम्रो हातमा भएका पाँच औँलालाई पञ्चतŒव पृथ्वी, जल, तेज, वायु र आकाशका रूपमा अथ्र्याइएको छ । सोहीमुताविक औँलाहरू एकसाथ हुँदा त्यसबाट ऊर्जा मिल्छ । ऋषिमुनिहरूले नमस्कार गर्नुलाई अभिवादनको उत्कृष्ट शैली ठह¥याए र व्यवहारमा पूर्णता दिए ।

आत्मनियन्त्रणको मुद्रा नमस्कार । विनम्रताको मुद्रा नमस्कार । देवता, गुरु, ब्राह्मण, अग्रज, मान्यजन र साथीभाइलाई नमस्कार गर्दा शरीर, मन र वचनले गरिन्छ । यसरी नमस्कार गर्नु मानव शरीरका लागि एउटा यौगिक प्रक्रिया पनि हो । नमस्ते, नमस्कार, प्रणाम, अभिवादन शैली हाम्रो परम्परागत संस्कार हो । शिष्टाचारको पालन हो । मर्यादा र अनुशासनको चक्र पनि हो । धर्ममा मात्र हैन, योगविज्ञान तथा आयुर्वेदमा पनि यसको महŒव छ । हाम्रा पूर्वजले चलाएका यो चलन कति वैज्ञानिक र हानिरहित छ भन्ने कुरा त अहिले आएर प्रमाणित हुन थालेको छ ।

प्रसङ्ग हो, कोरोना भाइरसको विश्वव्यापी प्रकोप । यसको सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य सङ्गठनले अभिवादनस्वरूप हात मिलाउने परम्परालाई रोक्न आग्रह ग¥यो । रोकिनु त जड प्रवृत्ति भयो । तर, अब अभिवादन कसरी
गर्ने ? भनेर विशाल साँस्कृतिक साम्राज्यतिर व्यापक हल्लीखल्ली नै मच्चियो । हात मिलाउने, चुम्वन गर्ने र अङ्कमाल गर्ने प्रक्रिया स्वास्थ्यका लागि हानिकारक पुष्टि भए । पछि सुनियो, कतिपय मुलुकमा गोडा मिलाउन थालियो रे !
यही मेसोमा इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतन्याहुले हात मिलाउनुको साटो नमस्कार गर्न आग्रह गर्नुभयो । न्येतन्याहुको यो आग्रहलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले निकै प्राथमिकतासाथ सम्प्रेषण गरे । हामी भने केही दशकदेखि नमस्कार गर्न भुल्दै थियौँ । पश्चिमाको जुनसुकै परम्परा वा सिकोलाई वैज्ञानिक भनेर÷मानेर त्यसैलाई
अनुशरण गर्ने अहिलेको हाम्रो पुस्तालाई नमस्ते अर्थात् नमस्कारको महŒवबोध यो उदाहरणले गराइदिएको छ ।

हाम्रो हातमा धेरैतिरका नसा आएर अन्त्य भएका हुन्छन्, जसले गर्दा हत्केलाका खासखास नसाहरूबाटै शरीरको पूरै पद्धतिलाई नियन्त्रण गर्न सकिन्छ भन्नेकुरा त औषधिविज्ञानले पनि भनिसकेको छ । अर्को, नमस्कार नै अभिवादनको सर्वोत्तम प्रणाली किन पनि भयो भने हत्केलामा रहेका ती नसा एकसाथ जुर्मुराउँदा÷जुट्दा एक त दिमाग केन्द्रित हुन्छ भने अर्को रोग सर्ने भय÷डर पनि हुँदैन । साथै अभिवादन पनि भव्य बन्छ । बिहान उठेर गरिने सूर्य नमस्कारमा पनि शारीरिक स्वस्थता र अनेकौँ उद्देश्य समाविष्ट रहेको पाउन सक्छौँ ।
हाम्रा पूर्वजले अभिवादनका लागि चलाएको ‘नमस्कार’ चलन ख्यालख्यालको होइन । हामीले मात्र हैन, अब संसारका मानिसले नै यसलाई अभिवादनको माध्यमका रूपमा स्वीकार गर्नुपर्ने अवस्था आज देखिएको छ । तर, हाम्रोे सभ्यताले विकसित गरेका कतिपय चलन प्रकृतिसँग मिल्ने भए पनि संसारका महाशक्ति राष्ट्रहरू जोसँग पैसा छ, दलबलसहित जोसँग शक्ति छ, उनीहरूका चलनले मान्यता पाउँदै आएको छ । यसको प्रत्यक्ष उदाहरण नमस्कार छोड, हात मिलाऊ । गला मिलाऊ । गुरु र गुरुआमा नभन, सर र मिस भन । बुबाआमा नभन, ममीड्याडी भन । काकाकाकी, मामामाइजू नभन, अङ्कलआन्टी भन । दिदीबहिनी, दाजुभाइ नभन, ब्रदर अर्थात् ब्रो र सिस्टर अर्थात् सिसको आदतमै अभ्यस्त बन । त्यस्तै भान्सामा पाक्ने दालभात, तरकारी अचारभन्दा पाखे सुनिन्छ रे । त्यसको सट्टा किचन, ब्रेकफास्ट, लन्च, डिनर रे । यसैलाई विकासको मानक मानेर पछ्याउँदै दौडिने हाम्रो सोच, व्यवहार र चलनलाई धन्न कोरोना माहामारीले सम्झाइदिएको छ ।

नमस्कारको प्रयोग वेदमा पनि गरिएको छ । महाभारत र कालिका पुराणमा पनि नमस्कार गरेरमात्र किताब पढ भनिएको छ । कामना त जसरी पनि गरिन्छ । तर, नमस्कार यस्तो नियन्त्रित अभिवादन शैली हो, जसले कर्तालाई पहिला विचारशुन्य बनाउँछ र म तपाईंको अधिनमा छु÷हुँ भन्ने भाव व्यक्त भइरहेको हुन्छ । अर्थात् तपार्इं मभन्दा श्रेष्ठ हुनुहुन्छ भनिरहेको हुन्छ । गला मिलाउन चिनेको मानिस हुनुपर्ला । हात मिलाउन सफाचट मानिस खोज्नुपर्ला । जटिल कुरा त मृत्यु भइसकेकासँग कसरी हात मिलाउनु, न गला ! तर, नमस्कार सबैलाई सबैले जुनसुकै अवस्था र परिस्थितिमा गर्न सकिन्छ । अतः मान्यजन, अग्रज र साथीभाइलाई देख्नेबित्तिकै अभिवादनका रूपमा मात्र गर्ने गरेको नमस्कार अब आफ्नो स्वास्थ्यका लागि पनि कति उपयोगी र वैज्ञानिक रहेछ भनेर बुझौँ । चिन्तन–मनन गरौँ र दिनभरिको ऊर्जालाई यथास्थानमा राख्न बिहान व्युँझिनेबित्तिकै ओछ्यानबाटै जीवन र जगत्लाई सम्झेर केही समय नमस्कार, प्रणाम गरौँ ।  -बिन्दु अधिकारी ढकाल

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु