गृहपृष्ठ नारायणयहिटीको सुरक्षा रणनीति परिवर्तन
नारायणयहिटीको सुरक्षा रणनीति परिवर्तन

नारायणहिटी संग्रहालयभित्र सोकेसमा राखिएको खुकुरी निकाली बुलेटप्रुफ सिसा फुटाएर श्रीपेच चोर्ने असफल प्रयास भएपछि संग्रहालय प्रशासनले सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ।
गत शुक्रबार२५ वर्षे एक युवकले रूपन्देही कक्षमा नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको श्रीपेच चोर्ने प्रयास गरेसँगै सुरक्षा कडाइ गर्न लागिएको हो।
नारायणहिटी संग्रहालय विकास समितिले संग्रहालयको विभिन्न कक्षमा प्रदर्शनीमा राखिएका अति संवेदनशील हातहतियार बन्दुकलगायत सामग्री अवलोकन गर्न आउनेले भेट्न नसक्ने गरी राख्ने र संग्रहालय प्रवेश गर्ने व्यक्तिको अवस्थाबारे समेत अध्ययन गर्ने तयारी गरेको छ।
संग्रहालय प्रमुख भेषनारायण दाहालले पूर्ण सुरक्षित कक्षको बुलेटप्रुफ सोकेसमा राखिएको श्रीपेच चोर्ने प्रयासलाई असामान्य रूपमा लिएको जानकारी गराउँदै आइन्दा यस्तो विषय दोहोरिन नदिन सुरक्षा सतर्कता अपनाइने बताए।