गृहपृष्ठ नारी समाज पोर्तुगलद्धारा एक महिने विशेष ब्युटिसियन तालिम पूरा
नारी समाज पोर्तुगलद्धारा एक महिने विशेष ब्युटिसियन तालिम पूरा
पुनम गौतम, लिस्वन, पोर्तुगल ।
१८ जनवरी । नेपाली नारी समाज पोर्तुगलद्धारा सञ्चालित १ महिने “विशेष ब्युटिसियन” तालिमको सम्पन्न भएको छ । स्थापनाकालदेखि नै पोर्चुगलमा बसोबास गर्ने नेपाली दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउन नेपाली नारी समाज पोर्तुगलले विभिन्न सिपमुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
समाजले यस अघि पनि हाउस किपिङ लगायतका तालिमहरु दिएको थियो । “विशेष ब्युटिसियन” तालिममा (मेनिकियर, पेडिकियर) को प्रशिक्षण दिईएको प्रशिक्षक गीता बर्देवाले जानकारी दिनु भयो ।
हातमा सीप भए सजिलै जिवनयापन गर्न सकिने बताउँदै प्रशिक्षक बर्देवाले प्रशिक्षार्थीहरुले उत्साहका साथ प्रशिक्षण लिएको बताउनु भयो । त्यस्तै गरी पछिल्लो समय पार्लर सम्बन्धी धेरै महिलाहरुको चासो हुने भएकाले समय मिलाएर प्रशिक्षण लिएको प्रशिक्षार्थी शारदा रायमाझीले बताउनुभयो ।
मेनिकियर, पेडिकियरको थोरै पनि अनुभव नभएता पनि अब भने आफैं व्यवसायिक रुपमै कार्य गर्न सक्ने भएको अर्की प्रशिक्षार्थी कल्पना देवकोटा अर्यालले बताउनुभयो ।
गत १० डिसेम्बर २०१९ देखि शुरु भएको तालिमको औपचारिक रुपमा हिजो शनिवार समापन गरिएको हो तर प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र भने आगामी ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर हस्तान्तरण गरिने समाजकी कार्यबाहक अध्यक्ष मिनामाया खरेलले जानकारी दिनुभयो ।
महिलाहरुको क्षमता अभिवृद्धिका लागि लामो समयदेखि विभिन्न सिपमुलक कार्यक्रमहरु गर्दै आएको समाजले बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि १ महिने ब्युटिपार्लर तालिम दिएको हो । पार्लर महिलाहरुकोलागि सजिलो र राम्रो कामको अवसर भएको र आफूले आर्जन गरेको सीप जहाँ पुगे पनि काम लाग्ने भएको हुदाँ यसवर्ष पनि ब्युटिपार्लर सम्बन्धी तालिम दिईको समाजकी संस्थापक अध्यक्ष सिता बरालले जानकारी दिनुभयो । आन्जुसमा रहेको कान्छी फेशन एण्ड बुटिकको सहकार्यमा दिईएको तालिममा १५ जनाको सहभागीता रहेको थियो ।