गृहपृष्ठ नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन ,अध्यक्षमा कंडेल निर्वाचित
नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन ,अध्यक्षमा कंडेल निर्वाचित

निकै रस्साकस्सीका बीच भएको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनले अध्यक्षमा राधाकृष्ण कंडेललाई निर्वाचित गरेको छ।
मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मतले पराजित गर्दै कंडेल निर्वाचित भएका हुन्।
विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए। ५ पदाधिकारीमध्ये ४ पदमा निर्वाचन भएको थियो।
भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो। त्यसै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन्। उनीसँगै रुपन्देहीका विश्वराज बराल (अनुप) ले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका छन्।
उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन्। उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका छन्।
त्यस्तै महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन्। उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए।
त्यसै गरी लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । उनले प्रतिष्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन्।
मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो।पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कंडेल समूहका हुन्।