गृहपृष्ठ नेपाली नारी समाज पोर्तुगलको आयोजनामा वृहत तीज विशेष कार्यक्रम हुने
नेपाली नारी समाज पोर्तुगलको आयोजनामा वृहत तीज विशेष कार्यक्रम हुने

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेपाली नारी समाज पोर्तुगलद्वारा आयोजित आगामी आइतबार दिउँसो ३ बजेदेखि लिस्बनको मुटु मानिने मार्टिम मुनिज पार्कमा नेपालका चर्चित राष्ट्रिय कलाकारहरु भगवान भण्डारी, जेबी ओली, देविका केसी, हिरा थापा सहितको प्रस्तुति रहेको वृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
कोरोना कहरले गर्दा २ वर्षसम्म खुला रूपमा हुन नसकेको तीज साँस्कृतिक कार्यक्रम यो बर्ष भने भव्य तयारीकासाथ हुन लागेको समाजकी कार्यवाहक अध्यक्ष गिता रेउलेले जानकारी दिनुभयो। पोर्तुगलमा पहिलो पटक यसरी पार्कमा खुला कार्यक्रम गरेर तीज मनाउने शुरूवात नारी समाजले गरेको बताउदै का.वा अध्यक्ष रेउलेले हामी सबैले खुशी र रमाइलोकोसाथ वृहत रूपमा आफ्नो धर्म, संस्कृतिको संरक्षण गर्दै मौलिकता जोगाउन लागि परेको बताउनु भयो।
समाजले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि परम्परा संरक्षण गर्नको लागि कार्यक्रमको तयारी गरेको हो। शुक्रबारसम्म कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको समाजले जनाएको छ। पोर्तुगलमा रहेका नेपाली दिदिबहिनीको माइतीको आँगन बन्दै आइरहेको नेपाली नारी समाजले गतवर्ष जस्तै यसपालि पनि खुल्ला पार्कमा कार्यक्रम गर्न पाउँदा हर्षित भएको समाजकी महासचिव पुनम गौतमले बताउनु भयो।
पोर्तुगलमा रहनुहुने सम्पूर्ण नेपाली दिदिबहिनीहरु नारी समाजले गर्ने वृहत् तिज कार्यक्रमको प्रतीक्षामा रहनु भएको जानकारी दिदै महासचिव गौतमले विदेशमा रहेर पनि आफ्नो सँस्कार र सँस्कृतिको जगेर्ना गर्न आफुहरु सधैं तत्पर रहेको बताउनु भयो। साथै महासचिव गौतमले सबै दिदिबहिनी दाजुभाइहरुलाई आगामी आइतबार छुट्टी मिलाएर उपस्थित हुन समेत आग्रह गर्नुभयो। वर्षमा एकपटक नाच्न र रमाइलो गर्नको लागी समेत उहाँले सबैलाई निमन्त्रणा गर्नु भएको छ। पोर्चुगलस्थित सम्पूर्ण संघ-संस्था, संगठनका प्रतिनिधिहरु एवं समस्त नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि समाजले सबैलाई अनुरोध गरेको छ। साथै समाजले नाच्ने रमाइलो गर्ने कार्यक्रम भएको हुँदा महँगो गर-गहना नलगाई दिन समेत सुचित गरेको छ।