२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ पत्रकार महासंघ बेलायत शाखाको निर्वाचन,अध्यक्षमा अर्याल निर्वाचित

पत्रकार महासंघ बेलायत शाखाको निर्वाचन,अध्यक्षमा अर्याल निर्वाचित

नेपाल पत्रकार महासंघ बेलायत शाखाको निर्वाचन सम्पन्न भएको छ। शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी भएका छन्।

आइतबार १३ जुनमा भएको पाँचौं अधिवेशनबाट अध्यक्षमा अर्याल निर्वाचित भएका हुन्। उनले २६ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी श्यामकुमार लुइँटेलले १६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

यस्तै वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार ३२ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी सञ्जयभक्त कँडेलले १० मत मात्रै प्राप्त गरे।

महासचिवमा भने नरेन्द्रकुमार बस्नेत २७ मतसहित विजयी बनेका छन्। उनका प्रतिस्पर्धी जगनाथ कार्कीले १५ मत पाएको निर्वाचन समितिले जनाएको छ।

महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भइन् भने खुला उपाध्यक्षतर्फ शिव भण्डारी पनि निर्विरोध भएका छन्।

सचिव मञ्जु भण्डारी खरेल र कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङ्नाम निर्विरोध भएका छन्।

यस्तै सदस्यहरुमा गोमा राना, जयराम तामाङ, नगेन्द्रराज नेम्वाङ निर्विरोध निर्वाचित भएका छन्। तीन जना पछि मनोनयन गर्ने जनाइएको छ। कार्यसमिति चयनका लागि प्रमुख निर्वाचन आयुक्त रमेशसिङ सराङकोटी थिए।

पत्रकार महासंघ बेलायतको अधिवेशन आइतबारनै सुरु भएको हो। पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता र महासचिव रोशन पुरीको विशेष आतिथ्यतामा उद्घघाटन सत्र सञ्चालन गरिएको थियो।

अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विभिन्‍न वक्ताहरुले अधिवेशन सफलताको शुभकामना र निर्विरोध निर्वाचित र भोटिङबाट निर्वाचित हुने नयाँ कार्यसमितिलाई अग्रिम बधाई दिएका थिए। उद्घाटन सत्रमा महासंघ बेलायत शाखाले बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई आइतबार सम्मान गरेको छ।

सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगीरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्वप्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभीका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा प्रकाशित सगरमाथा टाइम्सका सम्पादक सुरेशजंग शाह रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु