गृहपृष्ठ पत्रकार महासंघ युरोपद्वारा पत्रकारमाथिको धम्कीपूर्ण अभिव्यक्तिको भत्सर्ना
पत्रकार महासंघ युरोपद्वारा पत्रकारमाथिको धम्कीपूर्ण अभिव्यक्तिको भत्सर्ना

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको भेलाको निर्णय सुनाउन भनेर पत्रकारहरुलाई निमन्त्रणा गरी २६ अक्टोबर २०२१ का दिन आयोजना गरिएको जुम भर्चुअल लाइभ प्रसारणमा नेपाल पत्रकार महासंघ युके शाखाका पूर्व अध्यक्ष एवं नेपाल ब्रिटेन डटकमका सम्पादक चिरन शर्मा र महासंघ युके शाखाकै सल्लाहकार एवं डायस्पोरा नेपाल डटकमका सम्पादक श्याम लुइँटेललाई एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले दिएको गालीगलौजयुक्त, धम्कीपूर्ण र लज्जास्पद अभिव्यक्तिको नेपाल पत्रकार महासंघ युरोप शाखा घोर भत्सर्ना गर्दछ।
भेलाको निष्कर्ष सुनाउन पत्रकार सम्मेलनमा पत्रकारद्वय शर्मा र लुइँटेलले बिधान बमोजिम भेलाको बैधानिकता माथि प्रश्न चिन्ह उठेको बारेमा जिज्ञासा राखेका थिए। आयोजक मध्येका एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले प्रश्नको उत्तर नदिइ युकेका अध्यक्ष गाहा मगरलाई जवाफ दिन भनेपछि गाहा मगरले जिज्ञासाको जवाफ तिर नगइ प्रश्नकर्ता पत्रकारहरु माथि गाली गलौज गर्दै पुलिस कस्टडीमा पुर्याउने धम्की दिन थाले। उनी यतिमा मात्र रोकिएनन्, पत्रकारहरुको जरो-किलो उखेल्ने, ठेगान लगाउने, पत्रिका बन्द गराइदिने भन्ने आपत्तिजनक अभिव्यक्ति समेत दिएका थिए।
युरोप जस्तो सभ्य ठाउँ बसेर नेपालीहरुको नेतृत्व गर्छु भन्ने व्यक्तिको यस्तो किसिमको अभिव्यक्ति र रवैया लज्जास्पद मात्र होइन घोर अलोकतान्त्रिक र निन्दनीय छ। भेलामा पत्रकारहरुलाई ठेगान लगाउनु पर्ने भन्ने कुरा उठेको पाइएको सन्दर्भमा भेलाकै निर्णय बमोजिम पत्रकारहरुलाई यस्तो धम्की दिइएको हो भन्ने पुष्टि भएको छ।
एनआरएनएको अभियानलाई स्थापना कालदेखि ससक्त बनाउन र उचाईमा पुर्याउन पत्रकारहरुको योगदान अतुलनीय रहेको कुरालाई नजरअन्दाज गर्ने यस्ता व्यक्तिहरु नेतृत्वमा रहदासम्म एनआरएनए अभियानको गरिमा बढ्ने होइन धुमिल हुने निश्चित छ। त्यसैले राज्यको चौथो अंग संचारजगत र संचारकर्मी पत्रकारहरु माथि दिइएको धम्की पत्रकार महासंघलाई कुनै पनि हालतमा स्वीकार्य छैन।
जो कोहीबाट संचारकर्मीमाथि हुने यस्ता अभिव्यक्ति, धम्की र गतिविधिको डटेर सामाना गरिने जानकारी गराउन चाहन्छौं। र संचारकर्मीमाथि यस्तो क्रियाकलाप नदोहोर्याउन सचेत गराउँदै यस घटनाका आयोजकहरु र सम्बन्धित व्यक्तिलाई सार्वजनिक रुपमा क्षमा याचनाका लागि आग्रह गर्दछौं अन्यथा हामी कडा कदम चाल्न बाध्य हुनेछौं।
प्रेम परियार
अध्यक्ष
द्रोण रिजाल
महासचिव
नेपाल पत्रकार महासंघ युरोप, शाखा
२८ अक्टोबर २०२१