Covid-19
City Express

पिडादायी आज,अनिश्चित भोलि

फेरिएन दैनिकी तर फेरियो सबथोक

उक्लदा उक्लदै उकालोमा
उक्लेको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दो रहेनछ,

ओर्लदा ओर्लदैं ओरालोमा
ओर्लेको बाटो नै उक्लिएपछि
ओर्लनेको पनि केही लाग्दो रहेनछ ।

कवि तुलसी दिवसको कविताले भने जस्तै परिस्थीति कसैको काबुमा हुदैन। समयको रथ कहिल्यै पनि एकनासले दौडिदैन । यद्यपि हरेक मान्छेका यात्राका आयामहरू फरक हुन्छन्। कसैको यात्रा उकालो लाग्दा कसैको ओर्लिरहेको हुन्छ।

कसैको ओर्लिरहेका बेला कसैको उक्लीरहेको हुन्छ। तर यसपाली यस्तो समय आइलाग्यो कि, धर्तीका सबैजसो मान्छेहरूका बाटा एक साथ बदलिए अर्थात् सबैको यात्रा ओरालो लाग्यो। यसरी सबैको दैनिकी एक साथ परिवर्तन गरीदिने त्यो बलशाली शक्ति हो, कोरोना भाइरस अर्थात् कोभिड–१९ ।

२०२० जनवरी ५ मा चीनको वुहानमा एक संक्रमितको निधन भएपछि सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को त्रासदी आजसम्म जारी छ । हो, यही त्रासदीले यो सिंगो पृथ्वीका मान्छेहरूको दैनिकी बदलिएको छ। मनोविज्ञान बदलेको छ। सपना र सम्बन्धहरू बदलिएका छन्।

अनेकौं प्रयास र प्रयत्नका बीच पनि यो त्रासदीबाट नेपाल पनि मुक्त हुन सकेन। नेपालमा पहिलो संक्रमण चीनबाट आएका एक विद्यार्थीमा २०७६ माघ १० गते देखिएको थियो। यसपछि दोस्रो संक्रमित ९ चैत २०७६ भेटियो। नेपालमा दोस्रो संक्रमित पुष्टि हुँदै गर्दा छिमेकी भारतमा कोरोनाको संक्रमण फैलिन थालिसकेको थियो।

विश्वभरी दुई लाख भन्दा धेरै संक्रमित भएका थिए। १० हजार बढीको मृत्यु भएको थियो। यी सबै तथ्यहरूलाई मध्यनजर गर्दै ७ चैत २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवाहरू चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको घोषणा गरे। ११ चैत २०७६ बाट देश ‘लकडाउन’ गरियो। प्रधानमन्त्रीको सम्बोधनपछि आमा-बाबाको सम्बोधन।

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर चैत २१ गतेसम्म अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवाहरू बन्द गर्ने घोषणा गरेसँगै नेपालमा पनि एक खालको त्रासदी फैलियो। यो घोषणासँगै अब कोरोना भाइरस फैलिन्छ भन्ने पूर्व अनुमान गरियो। काठमाडौंमा मात्रै संक्रमित भेटिएको कारण सबैलाई काठमाडौं असुरक्षित छ। गाउँ अर्थात् बाहिर जिल्लाहरू चै सुरक्षित छन् भन्ने बुझाई भयो। त्यही कारण १० चैत २०७६ देखि दैनिक रुपमा काठमाडौं छोड्न सुरु गरे। रातारात हजारौंले उपत्यका छोडे।

गाउँमा रहेका आमाबाबाले पनि आफ्ना शहरमा रहेका छोराछोरीहरूलाई गाउँ फर्किन भन्न थाले। मेरो आमाबाबाको मन पनि त उही हो । प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेलगत्तै आमाबाबाले हामी छोराछोरीको नाममा सम्बोधन सुरु गर्नुभयो। उहाँहरूको भनाई थियो, छोरी सम्भव भए सबै घर फर्किनु।’

काठमाडौं छाड्ने सबैलाई हात हल्लाएर मचाहिँ काठमाडौंमा नै बस्ने निधो गरेँ। त्यसो त हुलका हुल मान्छेहरू घर फर्किएको दृश्यहरूले मेरो मन पनि कटक्क नखाएको त कहाँ हो र ? मेरो एक मनले त भन्यो, ‘जीन्दगी नै खतरामा पर्नसक्छ, जानुपर्छ गाउँ।’ तर फेरि अर्को मनले भन्यो, ‘चुनौती र जिम्मेवारीबाट भागेर कहाँ हुन्छ र ?’ यही चुनौतीको बीच आफ्नो पेशागत जिम्मेवारी सम्हाल्नु थियो। मेरो जिम्मेवारी हो,–”पत्रकारिता”।

जस्तोसुकै कठिन अवस्थामा पनि जनतालाई सूसुचित गर्ने अठोट गरेरै रोजेको पेशा हो, “पत्रकारिता” । हाल जनता टेलिभिजनमा आबद्ध छु। दैनिक समाचार कक्षबाट समाचार पढ्ने र कार्यक्रम सञ्चालन गर्ने मेरो मुख्य जिम्मेवारी हो। त्यही भएर सबैलाई घरभित्रै बस्न अनुरोध गर्दै आफूचाहिँ दैनिक अफिस जानुपर्ने बाध्यता आइलाग्यो। शहरमा लाखौंलाख मान्छेहरू घरभित्र बसिरहेको बेला परिचयपत्र र पहेलो ज्याकेट लगाएर बाहिर निस्किनुको फरक अनुभवसहित दैनिकी सुरु भयो।

फेरिएन दैनिकी, फेरियो सबथोक
२०७६ चैत ११ देखि काठमाडौंका सडक सुनासन भए, शहर सुनसान भयो। सधैंजस्तो साथीभाईसँगको भेटघाटहरू बन्द भए। अधिकांशको दैनिकी फेरियो। तर मुख्य रुपमा मेरो दैनिकी भने फेरिएन। अधिकांश पत्रकार साथीहरूको पनि दैनिकी फेरियो।

‘घरैबाट काम’ सुरु भयो । तर हामी टेलिभिजनमा समाचार पढ्नेहरूका लागि ‘घरैबाट काम’ सम्भव हुने कुरै भएन। कार्यालयसम्म जानै पर्ने बाध्यता भयो। अधिंकाशको दैनिकी बदलिएको बेला मेरो भने उही भयो, दैनिक टेलिभिजनको कार्यालय जाने, समाचार पढ्ने घर फर्किने।” अतिथिहरू बोलाएर बहस कार्यक्रम सञ्चालन गर्ने।”

साथीहरूले दिनभरी घरमा बसेर फिल्म हेरेको, पुस्तक पढेको अथवा दिनभरी सुतेको सन्देश सुनाइरहेका बेला मेरो भने उही नियती थियो, कि दिनभरी घरमा बस्न बिदाको दिनको प्रतिक्षा गर्नुपर्ने। यस बीचमा सबैभन्दा बदलिएको बिषय हो, समाचार सामग्री।

सधैं विविध विषयका समाचार वाचन गर्नुप्रथ्यो। तर, लकडाउन सुरु भए यता समाचारको एउटै विषय हो, कोरोना भाइरस (कोभिड १९) । राजनीतिक समाचारमा पनि कोरोना भाइरस (कोभिड १९)। आर्थिक समाचारमा पनि कोरोना भाइरस (कोभिड १९)। सबै सबैमा कोरोना भाइरस (कोभिड १९)का सामाचार।

म काठमाडौंको पुरानो बानेश्वरमा बस्छु। म काम गर्ने टेलिभिजनको कार्यालय नयाँ बानेश्वरमा छ। ‘लकडाउन’ सुरु भएपछि सडकमा सुरक्षाकर्मीहरूको चर्को चेकजाँच छ। कहिलेकाहीँ नयाँ बानेश्वर चोकमा हुने चेकजाँचबाहेक उति धेरै झन्झट बेहोर्नु परेको छैन। सधैं नयाँ बानेश्वर चोकमा पट्यार लाग्दो जाम छिचोलेर जानुपर्ने बाध्यता थियो। तर अहिले कार्यालय पुग्न कति पनि समय लाग्दैन। यद्यपि कार्यालयको वातावरण सधैं भन्दा बिलकुल फरक छ।

हामी सञ्चारकर्मीहरू यसै पनि फरक फरक मान्छेहरूसँग भेटिरहन्छौं। संवाद गर्छौ। चियागफ चल्छ। दिनमा कम्तीमा आधा दर्जन पटक चिया गफमा जुट्ने हामीहरू अहिले कार्यालयकै चौघेराभित्र दिन काट्छौं। कार्यालयभित्र पनि सधैं जस्तो भिडभाड छैन। चुपचाप आफ्नै काम गर्ने, अनि घर फर्किने।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण सुरु भए यता मेरो फेरिएको अर्को दैनिकी हो, टेलिफोनबाट आमाबाबाको निर्देशन सुन्ने। भनिन्छ, ‘आफ्ना सन्तान जति ठूलो भए पनि आमाबाबाले बच्चा नै देख्नुहुन्छ।’ मेरो आमाबाबाको नजरमा पनि म उही फुच्ची केटी छु। दैनिक टेलिफोन गरेर आमाबाबाले कोरोनाबाट कसरी बच्ने ? त्यो सम्झाइरहनु हुन्छ । भन्नुहुन्छ, ‘छोरी, यसो गर्नु, त्यसो नगर्नु’ म भनिरहन्छु” हुन्छ गर्छु”।

पीडादायी आज र अनिश्चित भोली
विश्वव्यापी महामारी’ रुपमा फैलिएको कोरोनाभाइरसको कारण यतिखेर विश्व ठूलो संकटबाट गुज्रिरहेको छ। ७० हजार वर्षको इतिहासमा मानव समाजले यतिधेरै निरीह र असुरक्षित गरेको पहिलो पटक हो। अब भोली के होला ?

यही पीडादायी प्रश्नसहित मानव समाजनै ठूलोे त्रासदी र अनिश्चितताको अवस्थाबाट गुज्रिरहेको छ। मानव समाज यसबेला साँच्चिकै निरीह छ। विश्वले आफूलाई असुरक्षित ठानेको छ। यो अवस्थामा अनेकौं त्रासहरू हुने त भए नै। हामी दैनिक रुपमा कार्यालय जाने टेलिभिजनकर्मीहरूको अनेकौं समस्या छन्। आफ्नो सवारी साधन हुनेहरूले बीचमा चेकजाँच गर्नुपर्छ।

कतै चेकजाँच गर्ने सुरक्षाकर्मीहरूबाट सर्ला कि ? त्यो त्रास हुन्छ। कार्यालयमा पनि ठूलै टिम हुन्छ। त्यहाँ पनि उस्तै त्रास। अधिकांश सञ्चारकर्मीहरू भाडामा बस्छन्। म पनि भाडामा नै छु। यो बेला अधिकांश घरबेटीहरूको चाहना हुन्छ, “सकभर यस्तो बेला घरबाहिर नगइदिए हुन्थ्यो “। मेरो घरबेटीले त्यसो त भनेका छैनन् । तर घरबाट निस्किने बेला र फर्किएको बेला उनीहरूको अनुहारबाटै थाहा हुन्छ, कि कतै म कोरोनाको कारण त बनिरहेकी छैन ?

अर्कोतिर मानव समाजकै अस्तित्वमाथिको प्रश्न छ। एकातिर विश्वको अर्थतन्त्र पूरै डामाडोल छ। हामी आफै समाचारमा पढिरहेका हुन्छौं, ‘यहाँ ठूला उद्योग धन्दाहरू बन्द भए। त्यहाँ बन्द हुने अवस्थामा छन्। अर्थतन्त्र धरापमा छ आदि- आदि । निश्चित रुपमा उद्योग धन्दाहरूमा असर पर्नसाथ मिडिया उद्योगमा असर पर्ने निश्चित छ। मिडिया उद्योग धरासयी बन्दा यसमा आबद्ध श्रमजीवी पत्रकारहरूमा यसको पहिलो असर पर्नेछ।

मिडियाका मालिकहरू श्रमजीवी पत्रकारले हिजो कसरी काम गर्यो ? कस्तो योगदान गरेको छ ? अथवा यिनका दुःख के छन् ? त्यो हेर्दैनन्। आज नाफा कति भयो? उहाँहरूको ध्यान त्यतातिर हुन्छ। कोरोना महामारी सुरु भए यता नेपालमा पनि केही ठूला भनिएका सञ्चार माध्यमनै बन्द भएको अप्रिय समाचार सुन्नु परेको छ। जसले गर्दा महासंकटको यो अवस्थामा धेरै पत्रकार साथीहरूले जागिर गुमाएका छन् । साप्ताहिक पत्रिकाहरू बन्द छन् ।

दैनिक पत्रिका, टेलिभिजनहरूले ठूलोे संख्यामा सञ्चारकर्मी तथा कर्मचारीहरूलाई काम छोड्न दबाब दिइरहेका समाचार र खबर सुन्नु परिरहेको छ। यो समस्याबाट सबैभन्दा पीडित टेलिभिजनकर्मीहरू नै छन्। हामीलाई दर्शक स्रोताहरूले काँचको पर्दामा देख्दा निश्चय नै हाम्रा खुसीहरू मात्रै देख्छन्। देखिरहेका छन्। तर काँचका पर्दाभित्र छोपिएका दुःखहरू देखिदैनन् र देखाइदैनन् पनि। हो, यतिबेला काँचको पर्दामा देखिने धेरैका अनुहारभित्र लुकाइएका दुःखहरू कसैले देखेका छैनन्।

मानव समाजको दिर्घायूको कामनासँगै आफ्नो पेशाको दिर्घायूको कामनाको साथ मैदानमा लागिरहनु पर्ने नियतिबाट अहिले नेपाली सञ्चारकर्मीहरू अभिसप्त छन्। वास्तवमा सञ्चारकर्मीहरू अहिले अनेकौं त्रासदी बोकेर कार्यक्षेत्रमा खटिरहेका छन्।

पहिलो, कार्यक्षेत्रमा दौडिरहँदा कतिबेला कोराना लाग्छ ? कुनै टुंगो छैन। दोस्रो, कोरोनाको त्रासदीमा काम गरे पनि महिना मरेपछि तलब पाइन्छ कि पाइदैन ? यो पनि कुनै ग्यारेन्टी छैन । यी दुःखहरू काँचको पर्दाभित्र छोपिएका हाम्रा दुःख हुन् । यी हाम्रा दुःखहरू कहिले सुखमा बदलिएलान् ? कि यत्तिकै रहलान् ?

(जनता टेलिभिजनमा आवद्ध पत्रकार शिवाकोटी नेपाल पत्रकार महासंघ प्रदेश प्रतिष्ठान शाखाकी उपाध्यक्ष हुनुहुन्छ ।)

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु