Covid-19
City Express

पूर्वप्रधानमन्त्री शरीफ फरार अभियुक्त घोषित

पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री नवाज शरीफलाई फरार अपराधी घोषणा गरेको छ। उनी तीनपटक पाकिस्तानको प्रधानमन्त्री भएका थिए।

भ्रष्टाचारसम्बन्धी मुद्दामा शरीफ ७ वर्षको जेल सजाय काटिरहेका छन्। तर मेडिकल काउन्सिलको प्रतिवेदनका आधारमा उनलाई ३ हप्ताका लागि विदेश उपचार गर्न जान दिने अनुमति दिइएको थियो। त्यसको लगत्तै उनी लण्डन गएका थिए।

शरीफकी छोरी मारियम शरीफका अनुसार अहिले उनलाई शल्यक्रिया गर्नुपर्ने केही रोगहरु छन्। तर, कोरोना महामारीको बेला हुने जोखिमको कारण चिकित्सकहरुले अप्रेशन पर सारेको हुँदा शरीफ स्वदेश नफर्किएका हुन्।

शरीफ मधुमेय, उच्चरक्तचाप, किड्नी सम्बन्धी समस्यालगायत आधा दर्जनभन्दा बढी गम्भीर रोगहरुबाट ग्रसित रहेको बताइन्छ।

पाकिस्तान सरकारले भने गत अप्रिलमै उनलाई देश फर्किन वारेन्ट जारी गरेको थियो। तर, शरीफ फर्किएका थिएनन्।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सल्लाहकार शहजाद अबकरले लोकतान्त्रिक मुलुकको कानून सबैका लागि बराबर हुने हुँदा पाकिस्तानी अदालत र कानूनको सम्मान गर्दै ३ हप्ताभित्रै उनी देश फर्किनु पर्दथ्यो भनेका छन्। फरार घोषणा गरेसँगै उनलाई सुपुर्दगी गर्न बेलायत सरकारलाई पत्राचार गरिने समेत अबकरले बताए।

पूर्वप्रधानमन्त्री शरीफ लण्डनका सडकमा हिडेका तस्बिरहरु सार्वजनिक भएका थिए। यी तस्बिरले कानुनी राज्यलाई धज्जी उडाएको र पाकिस्तानमा विधिको शासन अर्थहीन भएको भन्दै व्यापक आलोचना भएको थियो।

नागरिक स्तरमा यस्तो आवाज बढेपछि इमरान खानको सरकार शरीफलाई फरार अपराधी घोषणा गर्न बाध्य भएको हो।

शरीफका वकिलले भने शरीफ फर्किन नसक्नुको कारणबारे सम्बन्धित अदालतमा याचिका दिइने अदालतले उपचारको म्याद थपिदिन सक्ने बताएका छन्।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु