गृहपृष्ठ पोर्चुगलमा एक नेपालीको असामयिक निधन
पोर्चुगलमा एक नेपालीको असामयिक निधन

थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको मार्च ३ तारिख शुक्रबार पोर्चुगलमा निधन भएको छ। उपचारको क्रममा ४५ वर्षिय चौधरीको निधन यहाँको एक अस्पतालमा भएको हो।
अस्पतालले उनको मृत्युमा हृदयघातको संकेत देखिएको जनाएको छ। उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो। उनी झन्डै ९ महिना अघि एक सडक दुर्घटनामा समेत घाइते भएका थिए। उनी लामो समयदेखि निरन्तर उपचारको क्रममा थिए।
चौधरीले कमैया नामक डकुमेन्ट्रीमा प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए। चौधरीकै अभिनय तथा लगानीमा निर्माण भएको थारु फिल्म बौछार, जीवन एक लदिया हो लगायत हिट भएका थिए।
कराँतेका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका चौधरी थारु फिल्मको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए।
उनी धनगढी उपमहानगरपालिका-१ शिवनगरका बासिन्दा हुन्। सन् २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए। चौधरीका पत्नी र तीन छोरीहरु रहेका छन्।