गृहपृष्ठ पोर्चुगलमा हराएका एक नेपाली युवा मृत अवस्थामा भेटिए
पोर्चुगलमा हराएका एक नेपाली युवा मृत अवस्थामा भेटिए

पोर्चुगलमा हराएका एक नेपाली युवा मृत अवस्थामा भेटिएका छन्। नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो।
सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिइएको छ।
उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबारमात्रै खुलेपछि प्रहरीले खबर गरेको थियो।
प्रहरीले दिएको जानकारीअनुसार सिलवालको शव राजधानी लिस्बन नजिकै पर्ने पासो डि आर्कोसस्थित समुद्रमा डुबेको अवस्थामा भेटिएको थियो।उनको शव कासकाइसस्थित अस्पतालको शवगृहमा राखिएको छ।
सो घटनाका विषयमा उनको परिवारलले जानकारी पाएको छ भने परिवारले शव नेपाल पठाइदिन आग्रह पनि गरेको छ।
वेपत्ता भएका सिलवालको खोजीकार्यका लागि यहाँको प्रहरी प्रशासनलाई खबर गर्नुका साथै ठाउँठाउँमा उनको फोटोसहितको पोस्टरसमेत टाँसिएको थियो।
सिलवाल वैदेशिक रोजगारीको सिलसिलामा सात वर्षअघि पोर्चुगल आएका थिए। गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए।