Covid-19
City Express

पोर्चुगलमा ८ हजार जनालाई नि:शुल्क पिज्जा खुवाउने अभियानमा नेपाली सेफ टंक सापकोटा

विश्वमा इटालियन खानाका लागि बिसौं  नम्बर भित्र पर्ने पोर्चुगलका चर्चित नेपाली सेफ टंक सापकोटाले एकमहिना भित्र ८ हजार जनालाई ८ हजार पिज्जा नि:शुल्क  खुवाउने आँट गरी अभियान शुरु गर्नु भएको छ ।

“एक्लैले संसार बदल्न सक्दैनौं, तर संसार बदल्न सहयोग गर्न सक्छौं ।” भन्ने नाराका साथ कोरोना कहरबाट प्रभावितहरुकालागि टीम नै लिएर सापकोटा पिज्जा खुवाउन  मैदानमा उत्रनु भएको हो।

एकमहिना लामो यो अभियान असार २ गते मंगलवारबाट सुरु भएको छ । इटालियन पिज्जाका लागि पोर्चुगलमा उत्कृष्ट सेफको रूपमा सापकोटा धेरै पटक सम्मानित भइसक्नु भएको छ ।

बाग्लुङको दमकेमा जन्मिएर युरोपका विभिन्न देश हुँदै २४ बर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउनु भएका ४५ बर्षिय सापकोटा पोर्चुगलमा विभिन्न  सेवामूलक काम र सहयोग पुर्याएकोले पनि सुपरिचित हुनुहुन्छ ।

कोरोनाको महामारीबाट समस्या परेका मानिसहरुलाइ आफ्नो नीजि खर्चमा सेवाभावले पिज्जा खुवाउने अभियान चलाएको रासससंगको कुराकानीमा सापकोटाले बताउनु भयो ।

पोर्चुगलको राजधानी लिस्बन भित्रका २४ वटा काउन्सिल(वडा) का समस्याग्रस्त मानिसहरुलाइ पिज्जा खुवाउने लक्ष्य राखिएको छ । “लिस्बन महानगरका काउन्सिलर कार्लोस कास्तुको समन्वयमा सम्बन्धित स्थानमा नै पिज्जा बनाएर खुवाउन हाम्रो टीम जुटेको छ” सापकोटाले भन्नु भयो ।

घुम्ती शिविरहरु संचालन गरेर घरघरमा पिज्जा पुर्याइने ब्यबस्थापनमा सक्रिय अर्का नेपाली व्यबसायी लक्ष्मीप्रसाद सापकोटाले बताउनु भयो ।

मुलतः एसियन र अफ्रिकन मुलुकका नागरिकहरुलाइ पिज्जा वितरण गर्ने लक्ष्य रहेको छ ।

सामान्यतय: एउटा पिज्जा तयार गर्न १४ युरो अर्थात झण्डै रु १७५० नेपाली लाग्ने अनुमान छ  ।  सापकोटाले आफ्नो उक्त  अभियान सफल बनाउन पिज्जा बनाउनका लागि ३० हजार युरो, नेपाली  झण्डै ४० लाख भन्दा बढीको फोर्नो(चुल्हो) राख्नु भएको छ । उहाँको भनाई अनुसार अभियान सम्पन्न हुने बेलासम्म  लगभग ६०,७०० युरो अर्थात  नेपाली ८५ लाख खर्च हुनेछ ।

उहाँको रेस्टुरेन्टमा पोर्चुगलका विभिन्न क्षेत्रका चर्चित सेलिब्रेटी, कलाकार, फुटबलर र राजनीतिज्ञहरुको जमघट हुने गरेको छ । पोर्चुगलका वर्तमान राष्ट्रपति मार्सेलो रेवेलो दे सौसा, प्रधानमन्त्री एन्तानियो कोस्टा पनि  धेरै पटक आफुले बनाएको पिज्जा खान रेस्टुरेन्ट आएको सापकोटाले आफ्नो अनुभव सुनाउनु भयो ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु