गृहपृष्ठ पोर्तुगलमा कोरोनाका कारण समस्या परेका नेपालीलाई एकमहिना पुग्ने राहत वितरण सुरु
पोर्तुगलमा कोरोनाका कारण समस्या परेका नेपालीलाई एकमहिना पुग्ने राहत वितरण सुरु

लिस्बन, पोर्तुगल, २४ अप्रिल । कोरोना भाइरसको प्रकोपबाट पोर्तुगलको नेपाली समुदायमा उत्पन्न समस्यालाई समाधान गर्ने हेतुले लिस्बनकालागि अवैतनिक नेपाली बाणिज्यदूत कार्यालयको संयोजकत्व र एनआरएए पोर्चुगलको अगुवाईमा बनेको सर्वपक्षीय कोरोना राहत तथा जनचेतना समितिको राहत वितरण उपसमितिले आज देखि लिस्बनमा राहत वितरण शुरु गरेको छ ।
एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष एवं राहत वितरण उपसमितिका सदस्य भिमसेन थापाको नेतृत्वमा लिस्बनको आन्जुसबाट राहत बाढ्ने काम सुरु भएको हो ।
नयाँ आउनु भएका, बेरोजगार रहनु भएका र विभिन्न कारणहरुबाट धेरै नै गाह्रो सार्हो भोगिरहनु भएका साथीहरूलाई आजदेखि खाद्यान्न राहत सामाग्रीहरु वितरण सुरु गरिएको वरिष्ठ उपाध्यक्ष थापाले बताए । आजको राहत वितरणमा अशोक गुरुङ, डोलराज भण्डारी, सीता श्रेष्ठ, शम्भु सिल्वाल लगायतको सक्रियता रहेको छ ।
राहतमा एकजनालाई अन्दाजी एक महिनालाई पुग्ने गरि १३ केजी चामल, ३ केजी दाल, ३ लिटर खाने तेल, १ केजी नुन, १ पकेट मसला, ३ पकेट स्पागेटी र एक थान साबुन रहेको छ ।

पहिलो चरणमा अत्यावश्यक भएका ७५ जनाको नाम राहत वितरणकालागि तय गरिएको लगत संकलन उपसमितिका सदस्य प्रदीप अधिकारीले ग्रुपमा जानकारी दिएका छन् ।
राहत प्राप्त गर्न चाहने महानुभावहरुलाइ लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने कुरालाई समेत मध्यनजर गर्दै भिडभाड नहोस भन्ने हेतुले फर्म भरिसक्नुभएका साथीहरूलाई एनआरएनएका पदाधिकारी वा राहत तथा जनचेतना समितिका साथीहरूले फोन गरि राहत लिन बोलाउने र लगत संकलन उपसमितिले दिएको विवरण अनुसार आज ३३ जनालाई राहत वितरण गरिने एनआरएनए पोर्तुगल अध्यक्ष तथा राहत वितरण उपसमितिका संयोजक तिलक गैरेले जानकारी दिए ।