२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ फोटोमा कविता प्रतियोगिता- १ को नतिजा घोषणा

फोटोमा कविता प्रतियोगिता- १ को नतिजा घोषणा

पफोटोमा कविता प्रतियोगिताको दोस्रो शृंखलामा कवि बिष्णु पादुकाको कविता संवाद प्रथम, कवि छिरिङ अविरलको कविता ममताको महासागर द्वितीय र कवि विनोद स्पन्दन, लक्ष्मी ढकाल एवम् अम्बिका अधिकारीको कविता क्रमश: मेरी आमा, धराको सम्झौता र आमाले तृतीय स्थान प्राप्त गरेको छ ।

सिर्जनालाई तुलामा कुनै बस्तु जोखेझैं जोख्न सम्भव छैन । विचार र कलाको मूल्यांकन निक्कै जटिल कुरा हो । यस शृंखलामा प्राप्त २६ कविताको पहिलो चरणको मूल्यांकन स्वयमले गरी भाषिक कला, शिल्प एवम् तर्कका आधारमा उत्कृष्ट चयन भएका एक दर्जन कविता अन्तिम निर्णयको लागि साहित्यकार एवम् समालोचक डा नेत्र एटमज्यू समक्ष पेश गरेको हुँ । एक दर्जन कविताबाट उल्लेखित कविता उत्कृष्ट पाँचमा परेका हुन् ।

पठाएका १२ ओटा कवितामध्ये छानिएका ५ ओटा कविता र तिनको श्रेणी यस्तो छ :

१. प्रथम : विष्णु पादुका- ‘संवाद’

आमा र छोराको संवादबाट चित्रलाई हेर्ने पृथक् अन्तर्दृष्टि यस कवितामा प्रस्तुत भएको छ । अनुहार हेरेर भोक मेटाउने र म बोकिने पिठ्युँमा दु:ख बोकिने बिम्बले छोराको संवेदनशीलता अनि आवश्यकता र आपूर्तिका प्वाँख उमारेर छोरो उड्न थालेपछि आमाको नाम्लो चुँडिने विश्वासको सन्दर्भ यसमा निकै प्रभावकारी छन् । यस कविताको उठान, विस्तार र अन्त्यको शृङ्खलाले सुन्दर काव्यिक स्वरुप पाएको छ ।

२. द्वितीय : छिरिङ अविरल- ‘ममताको महासागर’

यसमा आमाको ममताको वर्णन अधिक छ र त्यसमा केही परम्परागत र केही नवीन बिम्ब सिर्जना भएका छन् । रहरको दाउरा बटुलेर, पोल्टामा एक मुट्ठी ममताको ऐसेलु राखेरजस्ता सुन्दर र संक्षेपक अभिव्यक्ति आएका छन् तर तिनलाई आमा महान् छिन् भन्ने सपाट अभिव्यक्तिमा लगेर मिसाइएको छ । त्यसैले यो कविता विष्णु पादुकाको कविताभन्दा अलिकति पछि छ ।

३. तृतीय : लक्ष्मी ढकाल- ‘धराको सम्झौता’, स्पन्दन विनोद- ‘मेरी आमा’ र अम्बिका अधिकारी- ‘आमा’

यी कविताले संवेदनालाई अधिक प्रचलित र केही बिम्बका सहायतामा वर्णनलाई लयमा उन्ने प्रयास गरेका छन्।

वस्तु जस्तो छ, त्यस्तै रुपमा प्रस्तुत हुनु कविताको विशेषता होइन, यी कवितामा तुलनात्मक रुपले नवीनताको प्रयासको अलिक न्यूनता छ ।

कविता देखिने वस्तुको वर्णन होइन, त्यसले पारेको प्रभावको बिम्बात्मक प्रस्तुति हो । यसमा कविको अनुभूति, स्मृति र परिकल्पना गम्भीर, संक्षिप्त र नवीन स्वरुपमा प्रकट हुनुपर्छ । मलाई प्राप्त भएका कविताको मूल्याङ्कन पनि यिनै पक्षबाट भएको छ ।

कविता: संवाद

बिष्णु पादुका

खोकिलामा त
खाजा हुनुपर्ने आमा !
तर भोक मेटायौ मेरो अनुहार हेरेर

म बोकिने पिठ्युँमा दु:खले बोकियो ।

यो नाम्लो चुट्ने छ छोरा !
जव तँ हिड्नेछस्
जव तँ दगुर्नेछस्
जव तँ उड्नेछस्
आवश्यकता र आपूर्तिका प्वाँख उमारेर
मलाई थाहा छ
म भुलिने छु
तर
तिमी उडेको, नाचेको, खेलेको
धुमिल दृश्य भविष्यको आकाशमा
स्पष्ट हेर्ने रहरमै
मुस्काउँछु
त्यसैले म दु:खी छैन छोरा ।


ममताको महासागर

छिरिङ अविरल

हिमनदी जस्तै
हिमालको शिरबाट
कन्चन मन लिएर
जति सुकै अप्ठ्यारा
पहाड छिचोल्दै छिचोल्दै
हजारौं हिमनदीहरु मिसिने
महासागर जस्तै लाग्छ
आमाको ममता

जस्तो कि
बनमा गएर
रहरको दाउराहरु बटुलेर
अभावको भारी
थाप्लोमा बोकेर
ममताको मझेत्रो भित्र
सन्तानलाई काखी च्यापेर
पोल्टामा एक मुठ्ठी
ममताको एसेलु राखेर
अनबरत
हिडिरहन्छिन आमा !

थाहा छ
घरमा दाउरा लगे पछि
बल्नेछ घरको चुलो
अगेनाको उज्यालोमा
ममताको मुस्कान लिएर
गरिबीको कराई बसालेर
ममताको झ्याउलो
पकाउनेछिन
अनि
खुवाउछिन सन्तानलाई
आमा हुनुको आभाष दिलाउदै
हो यिनै
चाजोपाजो मिलाउनुछ आमालाई
हरेक दिन यसै गरि

निर्मल आकाश जस्तै
फराकिलो मन लिएर
सागरको गहिराई जस्तै
ममताको महासागर लिएर
आमा अनबरत
पैतालाका डाेबहरु बिच्छ्याईरहन्छिन
सन्तानको खुशीको लागि

कहिल्यै रित्तिन्दैन
आमाको ममता
जस्तो कि
एक दुई त के ?
करोडौं अन्जुली
पानी उठाउदैमा
रित्तिदैनन समुद्र
अलि अलि दुखहरु पनि
खुशीहरु भित्र मिसाउछिन
अनि देखाउदैनन
एक दुई अन्जुली दुखहरु
लुकाउछिन आपनै मझेत्रोमा
सधै थामथुम पार्छिन ।
त्यसैले त आमा महान छिन
अनि
आमाको
ममताको महासागर


कविता: मेरी आमा

स्पन्दन बिनोद

आमा तिम्रा, अटल गहमा, देख्छु पानी सधै म
भारी तिम्रो, म छु नकचरो, लौन पापी भएँ म
सारा पीडा, जब सरसिला, बूँदझैँ छन् निशानी
बोक्छ्यौ डोको, तर छ मुटुमा, बोक्न गाह्रो कहानी ।।१।।

कल्ले गर्थ्यो, अथक ममता, दाउरा घास बोकी
आफ्नो रोटी,हरपल दिई , घामले आङ छोपी
भोक्कै नांगै, टुकुटुकु हिँडी, हाँस्दछ्यौ के खुशीमा
आमा बाँच्ने, रहर मनका, बिर्सदै दु:ख नाना ।।२।।

एक्लै दुख्छ्यौ, सबचिज भुली,भाव गंगा बगेझैँ
हाँस्छ्यौ रुन्छ्यौ, कुन समयमा, हुन्छ देख्ला भनेझैँ
मेला जान्छ्यौ, तनमन दिई, तोड्नु तोड्यौ पहाड
पैतालामा, खिल कति दुखे, लाग्नु तिम्रै छ आड ।।३।।

थाप्लो बाटै, तपतप झरे, प्रेम बोकेर थोपा
ठेलै ठेला, सलबल गरे, स्पर्श नै गर्न भोका
झोलुंगेझैँ, अचल पटुकी, थेग्छ मेरो सरीर
त्यो सुस्केरा, गह र पसिना, हुन्छ आजन्म पीर।।४।।

मैले जित्दा, तब विजयको, रंग देखिन्छ प्यारो
हार्दा दुख्ने, ह्रृदय तट नै, हुन्छ सम्हाल्न गाह्रो
लड्दा रुन्छिन्, अझ विरहले, शुद्ध माया बहन्छ
भत्के बाटो, चरम दुखले, त्यो ज्युदो लास बन्छ ।।५।।


कविता: अामा

अम्विका अधिकारी

चिथ्राले आङ ढाकेर पिठ्युँमा भारीले थिची
सन्तानको गरी यत्न आमाको हृदय मिची
ममता चोलीमा राखी मातृत्व राखी आँतमा
सन्तानको गरी स्नेह आमा रुन्छिन् एकान्तमा

आफूले झरीमा भिज्दा छाता सन्तानमा दिने
छाया सन्तानमा दिई घाम चर्को स्वयं लिने
गाँस आफ्नो कटाएर बच्चाको पेट भर्दिने
बाँचून् सन्तान यी भन्दै आफू नै बरु मर्दिने ।

आफू गँवारै हुँ भैगो सन्तान होस् सुशिक्षित
भन्दै आफू गरी दुःख विद्यलय पढ्न पठाउने
धर्ती समान हुन् आमा पाइलो टेक्न सिकाउने
नदी समान छिन् बग्दै सन्तान पार लाउने

फलेको वृक्षझैँ आमा भोकतिर्खा मेटाउँछिन्
फेदै काटे पनि उसको घाम गर्मी हटाउँछिन् ।।
खेतबारी सरी आमा नाना फसल फल्दछिन्
बजारभरिको सारा वस्तु जम्मा गराउँछिन्

सुखको खोजमा अामा दिनदिनै दौडिँदै रह्यो ।
के हो सुख भनी जान्न नपाउँदै उमेर गयो
आफ्नो निम्ति कुनै हैन खाली सन्तान खातिर
सास अन्तिमको फेर्छिन् खपेर दुःख आखिर ।।


कविता: धराको सम्झौता

लक्ष्मी ढकाल

चाहे हुरीको धक्का सहेर होस्
या त
असिनाको वर्षासँग डटेर होस्
जिन्दगीमा लाग्ने निराशाको बादल हटाएर
भविष्यमा उषाको किरणभित्र
गुटमुटिने सपनामा हराउँदै
आज अगाडि आशाको पोको
पछाडि दाउराको डोको
नाम्लोले थिचिएको
निधारमा खै के लेखिएको छ ?

भविष्यको हस्तरेखामा
कर्मको ठेलाले छोपिएको छ
न वर्तमान सहज छ
न भविष्यत् काल देखिएको छ
तर पनि आशाको दियोमा तेल थपिरहन्छन् आमाहरू १

समाजमा सन्तानको इज्जतमा दाग लाग्ला
भनेर अति सचेत हुन्छन् हरेक आमाहरू
आफ्नो गुन्यू मक्काएर जान्छ, साइज घटाएर
लुङ्गी बनाई लगाउँछन्
अझै टुक्रिएर जान्छ टालो बनाएर बेरिरहन्छन्
पुरानाे चोलीका प्वाल टालेर भए पनि
श्रमको मूल्य खर्चिरहन्छन्
सन्तानको आङमा
महिनैपिच्छे फेरिरहन्छन्
नयाँ कपडाहरू
आधुनिकताका नाममा च्यात्तिएको
पाइन्टले घुँडा चिहाएर मुस्कुराएजस्तै
मुस्कुराएर हेरिरहन्छन् हरेक आमाहरू !

बलो भाँचिएर अशक्त बनेको घरजस्तै
कुप्रिएको पिठ्युले निहुरिएर
मन्दश्वास फोक्सोमा भरेर
पिलपिल बलेको टुकीबत्तीले
सन्तानको सुनौलो भविष्य खोजिरहन्छन्
दायाँबायाँ हत्केलाले टुकी छोपेर हरेक आमाहरू

फेरि
पटुकीले आफ्नो पेट कसेर
सन्तानको अघाएको पेट हेर्न आतुर हुन्छन्
कयौँ रात अनिदो बसेर काखमा
हल्लाउँदै लोहोरीले छोपेर निदाउने तिनै आमाहरू

आफ्नो वर्तमानमा दुःखको बाढी आउँदा पनि
सन्तानको भविष्यप्रति चनाखो बनेर
दुई–चारवटा आशाको इँटाले पर्खाल लगाएर
सन्तानको सुख बटुल्ने कोसिसमा
आजीवन लागिरहन्छन्
यसरी नै प्रत्येक आमाहरू !
धरा बनेर दुःखका पहरासँग सम्झौता गरिरहन्छन्
महान् आमाहरू !


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु