Covid-19
City Express

बुटवल -पाल्पा सडक दैनिक ८ घण्टा बन्द हुने

सडक स्तरोन्नतिका लागि सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल—पाल्पा सडक खण्ड यही चैत १ गतेदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

सडकका घुम्ती कटानलगायत कार्यका लागि चैत १ देखि १२ गतेसम्म दैनिक ८ घण्टा आवागमन रोक्न लागिएको डिभिजन सडक कार्यालय, पाल्पाले जनाएको छ । डिभिजन सडक कार्यालयका अनुसार, चैत १ गतेदेखि बिहान ७ देखि ९, दिउँसो १२ देखि ३ र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ ।

तोकिएको समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत् सञ्चालन हुनेछन् । घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाउन लागेको हो। राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काटेर सडक फराकिलो बनाइने छ।

जोखिमपूर्ण घुम्ती व्यवस्थापनका लागि समय तोकेर सडक बन्द गर्न लागिएको कार्यालयले जनाएको छ । निर्माण व्यवसायीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरूको बैठकले घुम्ती बढाउने काम सहज बनाउन सडक बन्द गरेर काम गर्न लागेको हो।

यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने समय तोकेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए । सडक सुधारको कामका बेला आमसर्वसाधारणलाई असहज नहोस् भनी तालिकाअनुसार सूचना सार्वजनिक गरी निर्माण कार्य गर्न लागिएको उनले बताए ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु