२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ बेलायतको ५७ औं प्रधानमन्त्रीमा भारतीय मुलका ऋषि सुनक नियुक्त

बेलायतको ५७ औं प्रधानमन्त्रीमा भारतीय मुलका ऋषि सुनक नियुक्त

बेलायतको ५७ औँ प्रधामन्त्रीमा ऋषि सुनक नियुक्त भएका छन्।

सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सोमबार चुनिएका सुनकलाई आज बेलायतका राजा चार्ल्स तृतीयले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि सुनकले सो प्रस्तावलाई स्वीकार्दै नयाँ प्रधानमन्त्री नियुक्त भएका हुन्।

उनी बेलायतको पहिलो गैर श्वेत प्रधानमन्त्री हुन्। ४२ वर्षीय सुनक बेलायतको पहिलो हिन्दू प्रधानमन्त्री पनि हुन्।

आज बिहान नै पूर्व प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्रीको कार्यालय छोडी राजा चार्ल्स तृतीय समक्ष राजिनामा दिएकी थिइन्। उनको राजिनामा राजदरबारले तत्काल स्वीकृत गरेको छ।

को हुन ऋषि सुनक ?

४२ वर्षीय सुनकको जन्म सन् १९८० मा बेलातको साउथह्याम्पटनमा भएको हो। भारतीय पारिवारिक विरासत भएका उनका पिता पारिवारिक चिकित्सक थिए भने आमा औषधि पसल सञ्चालक थिइन्। सुनक तीन सन्तानमध्ये सबैभन्दा जेठा हुन्।

उनले बेलायतमा कुलीनहरुले पढ्ने विञ्चेष्टर कलेजमा पढ्ने मौका पाए जहाँ उनी हेड व्वाइ र पत्रिकाको सम्पादक पनि रहे। उनले अक्सफोर्ड विश्वविद्यालयमा दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्र अध्ययन गरे। त्यसपछि अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीमा फुलब्राइट छात्रवृत्ति पाई एमबीए गरे।

अध्ययनपश्चात उनले गोल्डम्यान साक्स बैँकमा काम गरे भने हेज फेण्डमा पनि काम गरे। उनले केही व्यवसाय पनि शुरु गरेका थिए। उनी २० वर्ष नकट्दै मिलिनियर बनेका थिए।

सन् २०१५ मा उनी पहिलोपटक रिच्मण्ड योर्कसायर निर्वाचन क्षेत्रबाट सांसद चुनिए। यो निर्वाचन क्षेत्र कञ्जरभेटिभ पार्टीका पूर्व नेता तथा बेलायतका पूर्व विदेश मन्त्री विलियम हेगको क्षेत्र थियो। हेग हाउस अफ लर्डस्मा गएपछि सुनकले मौका पाए।

उनी सोही निर्वाचन क्षेत्रबाट सन् २०१७ र २०१९ मा पनि निर्वाचित भए। उनी बेलायत युरोपियन युनियनबाट बाहिरिने बारेमा भएको जनमत संग्रहमा बाहिरिने पक्षमा उभिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु