२०७९ माघ २१ गत शनिवार | February 04, 2023

गृहपृष्ठ बेलायतमा फेला पर्यो कोरोनाबाट गम्भीर बनेका बिमारीलाई बचाउने औषधि

बेलायतमा फेला पर्यो कोरोनाबाट गम्भीर बनेका बिमारीलाई बचाउने औषधि

बेलायतमा कोरोना भाइरस संक्रमणका कारण थलिएका गम्भीर बनेका बिरामीहरुलाई बचाउने एक औषधि भेटिएको छ ।

सस्तो र सर्वसुलभ रुपमा पहिलेदेखि नै उपलब्ध ‘डेक्सामेथासोन’ नामको औषधिको प्रयोगले कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामीहरुलाई बचाउन सकिने तथ्य प्रमाणित भएको बताइएको छ ।

बेलायतका विज्ञहरुले यो औषधिलाई कोरोना महामारीविरुद्धको लडाईंमा अहिलेसम्मकै ठूलो उपलब्धिका रुपमा व्याख्या गरेको बीबीसीले जनाएको छ ।

यो औषधिको प्रयोगले सिकिस्त अवस्थामा भेन्टिलेटरमा रहेका संक्रमितहरुमा मृत्युको जोखिम एक तिहाईले कम हुने विश्वास गरिएको छ । त्यस्तै, यो औषधिले अक्सिजनको सहायता लिइरहेका संक्रमितहरुमा मृत्युको जोखिम २० प्रतिशतले कम गर्ने विश्वास छ ।

अनुसन्धानकर्ताहरुले बेलायतमा महामारी शुरु हुनुअघि नै यो औषधिको बारेमा जानकारी रहेको भए करिब ५ हजार मानिसहरु मृत्युबाट जोगिन सक्ने आँकलन गरेका छन् । सस्तो रहेका कारण धेरै कोभिड संक्रमितहरु रहेका आर्थिक हिसाबले कमजोर देशहरुको लागि पनि यो औषधि उपयोगी हुने ठानिएको छ ।

अक्सफोर्ड युनिभर्सिटीको टीमसहितको संलग्नतामा कोरोना संक्रमितको उपचारको लागि डेक्सामेथासोनको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा विभिन्न अस्पतालमा उपचाररत २ हजार संक्रमितलाई यो औषधि दिइएको थियो । उनीहरुमा परेको प्रभाव यो औषधि नलिएका अन्य ४ हजार संक्रमितसंग तुलना गरिएको थियो ।

परीक्षणका क्रममा यो औषधिले भेन्टिलेटरमा रहेका संक्रमितहरुमा २८ देखि ४० प्रतिशतले मृत्युको जोखिम कम गरेको पाइएको थियो । त्यस्तै, अक्सिजनको सहायता लिएका संक्रमितहरुमा २० देखि २५ प्रतिशतले मृत्युको जोखिम घटाएको पाइएको थियो ।

तर यो औषधिले कोरोना संक्रमणका सामान्य लक्षण रहेका तथा श्वासप्रश्वाससम्बनधी समस्या नरहेका संक्रमितहरुलाई भने खासै फाइदा नगर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु