२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ बेल्जियममा सोनाम ल्होछार भब्यरुपमा सम्पन्न

बेल्जियममा सोनाम ल्होछार भब्यरुपमा सम्पन्न

इन्दिरा चाम्लिङ राई ,बेल्जियम :काजब्लांका क्यासेल्लो तामाङ समाज बेल्जियमद्वारा आयोजित २८५९ सोनाम ल्होछार कार्यक्रम बेल्जियमस्थित क्यासेल्लो शहरमा सम्पन्न भयो।

हिजो साँझ बुद्द धर्मका गुरुहरूको विशेष उपस्थिति र प्रवचन सहित उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको हो। बेल्जियमको ब्रुज, ब्रसेल्स, एन्टरपेन, हेरेन्ट र लुभेन सहरका तामाङ समुदाय तथा अन्य नेपालीहरू एकै ठाउँमा भेला भएर सामुहिक रूपमा सोनाम ल्होछार मनाएका थिए बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिले हाम्रा सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन गर्न पर्ने कुरामा जोड दिए।
राजदूतले सांसारिक मोह भन्दापनि सबैले मिलेर सांस्कृतिक जरालाई जोगाउन सक्नुपर्छ भने।

ध्वजाहरू अग्लो ठाउँमा टाँगिएको कुरा गर्दै उक्त ध्वँजाहरूमा राम्रो कुराहरू लेखिएको हुने र जति हावाले हल्लाउन थाल्छ त्यति नै ती ध्वँजामा भएका राम्रा कुराहरू धर्तीमा छरिएर , फैलियोस् र सबैलाई सुख, शान्ति समृद्धि मिलोस् भनेर ती ध्वँजाहरू अग्लो ठाउँमा टाँगिएको बताए। ती ध्वँजाहरूमा रहेका राम्रा कुराहरूले सबैलाई सुख, शान्ति र समृद्धि मिलोस् भनी शुभकामना दिए।


आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष विरमान मगरले तामाङ समुदायलाई मगर पुर्खाहरूले विगतमा गरेको भूलप्रति क्षमा याचना गरे।


अध्यक्ष मगरले तामाङ समुदाय तीसौ हजार बर्षबाट नेपालमा बसोवास रहेको कुरा उल्लेख गर्दै नेपालमा उनीहरूको पुरानो इतिहासको चर्चा गरे।


एनआरएन बेल्जियमका अध्यक्ष खड्ग बहादुर केसीले ल्होछार कार्यक्रममा तामाङ समुदायको संस्कृतिलाई संरक्षण गर्न र नयाँ पीढीलाई सिकाउन पनि सकिने भनेर आयोजकलाई धन्यवादसहित शुभकामना दिए।


कार्यक्रममा खेम्पो तामाङ रिम्पोछे धर्मगुरूले निकै अर्थपूर्ण मन्त्रहरूको व्याख्या गर्दै मानिसहरूले सांसारिक सुख भोगको मोहभन्दा पनि आफ्नो धर्म र संस्कृति जोगाउनमा विशेष ध्यान दिनुपर्ने महत्वपूर्ण संदेश प्रवाह गरे।


आयोजक समितिका अध्यक्ष राम लामाले यस पटक विगतमा भन्दा अलिक फरक ढंगबाट कार्यक्रम गरिएको बताए।


अध्यक्ष लामाले मनोरञ्जन मात्र दिलाउने होइन ज्ञान दिलाउने हेतुले , धर्म, संस्कार, संस्कृतिको संरक्षण, सम्बर्दन र जगेर्ना गर्ने , गुरुहरूबाट ज्ञान प्राप्त गर्ने हेतुले यस पटक यस्तो किसिमको कार्यक्रम आयोजना गरेको बताए।

बेल्जियममा बसोबास गर्ने गैर तामाङ समुदायका नेपालीहरू पनि उत्साहित भएर ल्होछार मनाउन उपस्थित थिए। उक्त कार्यक्रममा नेपालीहरूले सामुहिक रूपमा शान्तिको दिप बाले र धर्म गुरूबाट वाङ थापेर आशिष लिए।


समाजका अध्यक्ष राम लामा, राजदूत र धर्म गुरू खेम्पो तामाङ रेम्पोछेले सामुहिक रूपमा द्विप प्रजलन गरी कार्यक्रमको उद्घाटन गरे। अनिता लामा ,कमला तामाङ, लालिङ तामाङले अतिथिहरूलाई खादा लगाएर सम्मान गरे।


संस्थाका सचिब महेन्दो वाइवाले सबैलाई स्वागत गरे भने कार्यक्रम संचालन महासचिब चन्द्र ब्लोनले गरेका थिए। दोस्रो चरणको सांस्कृतिक कार्यक्रम लालिङ तामाङले गरिन्।


मौलिक, परम्परागत भेषभुषा र गरगहनामा सजिएर तामाङ समुदायका सदस्यहरूले कार्यक्रममा विशेषगरी धादिङ र नुवाकोटमा नाचिने नृत्य मेन्दोमाया, मानेदोरा भाकामा नाचेका थिए।

डम्फु तामाङ समुदायमा लोकप्रिय, प्रमुख बाजाको रूपमा प्रयोग किन गरिन्छ भनेर कार्यक्रम सन्चालनको क्रममा लालिङ तामाङले प्रष्ट पारिन्।


संस्थाका अध्यक्ष राम लामाका अनुसार लोछार ग्रहदशा नलागोस् , रोगव्याधी नलागोस् र अन्नबाली राम्रोसँग फलोस् फुलोस्, भन्ने कामना सहित पुर्खाको सम्झना गर्दै नयाँ बर्षको उपलक्ष्यमा मनाउने गरिन्छ।

उनले संस्कार र संस्कृति जोगाउन सके मात्र अस्तित्व जिवन्त रहन्छ भन्ने कुराको आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताए। मनोरन्जन गर्न मात्र नभई तामाङ संस्कार र संस्कृतिलाई संरक्षण गर्न र अन्य समुदायसंग आत्मियता र भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन कार्यक्रमको आयोजना गरिएको प्रष्ट्याए। लोछार तामाङ समुदायको मात्र नभएर नेपालकै राष्ट्रिय चाड हो, राष्ट्रिय सम्पदा हो भन्दै यसको संरक्षण र संवर्द्धन गर्न संपूर्ण नेपालीहरूको दायित्व भएको बताए।

कार्यक्रममा चन्द्र व्लोन र इन्दिरा चाम्लिङले समय शान्दर्भिक कविता र मुक्तक वाचन गरे । फूलमाया तामाङ लगायत ब्रुजबाट आएका समूहबाट बौद्ध परम्परा अन्तर्गत टिबेटियन महायानी सूत्रहरू, भगवान् बुद्धको वचनहरू वाचन गरेर मंगल मैत्रीको कामना गरिएको थियो।

उनीहरूले टिबेटियन भाषाको मन्त्र पाठ गरी कार्यक्रम शान्त, सभ्य र भव्य बनाई सबैलाई मन्त्रमुग्ध पार्न सफल भए।
स्वागत मन्तव्यका क्रममा सचिब महेन्दो वाइवाले हामी एक फूलबारीबाट संसारका विभिन्न मुलुकमा पुगेर फुलेका फूलहरू हौं। हामीले हाम्रो कला संस्कृतिलाई बोकेर हिंडेका छौँ। यही नै आफूहरूको विशेष्ता भएको बताए।


ल्हो भनेको वर्ष र छार भनेको नयाँ भनेर लोछारको अर्थ नयाँवर्ष हुन्छ भन्ने कुरा खुलाए। एनआरएन अध्यक्ष खड्ग केसीले शुकामना मन्तव्यका क्रममा नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले नेपाल धनी भएको भन्दै विदेशमा पनि यस्ता कार्यक्रमको आयोजनाबाट नयाँ पुस्ताले पनि हाम्रो कला,भाषा र संस्कृति के कस्तो छ भन्ने कुरा सिक्ने मौका पाउने बताए।


तामाङ समाजले आयोजना गरेको उक्त २८५९ सोनाम ल्होछार तावर ल्हो ( बिरालो बर्ग ) कार्यक्रममा सहभागी भई अतिथिहरू लगायत सहभागी नेपालीहरूले खेम्पो तामाङ रिम्पोछे गुरूबाट वाङ लिएका थिए। सो कार्यक्रम विगतका वर्षहरूमा भन्दा अलिक पृथक र सन्देशमुलक रहेको थियो।

ईना लामा ,अन्जिता लामा लगायत स्थानीय कलाकारहरूको निकै आकर्षक नृत्य प्रस्तुत गरेका थिए। तामाङ भाषाको गीतमा युरोपमा जन्मिएका बालबालिका युवा, युवतीले सुन्दर सामूहिक नृत्य गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु