गृहपृष्ठ मनकारी भण्डारी दाजुभाइ, स्वास्थ्य चौकीका लागि दिए जग्गा दान
मनकारी भण्डारी दाजुभाइ, स्वास्थ्य चौकीका लागि दिए जग्गा दान

हाम्रो नेपाली समाजमा एउटा उखान प्रचलित छ।धन भए मन हुँदैन ,मन भए धन हुँदैन ।तर यहाँ त्यस्ता विरलै व्यक्तिहरु भेटिने गर्दछन्, जो धनकारी र मनकारी दुबै होस्।
आज हामी त्यस्तै दुई पात्रको बारेमा चर्चा-परिचर्चा गर्ने जमर्को गरेका छौं।ती मध्ये एक मोतीराज भण्डारी हुन् भने अर्का तारा प्रसाद भण्डारी।हाल बेलायतमा बसोबास गर्दै आएका यी भण्डारी दाजुभाइकै कारण गुल्मी रुपाकोटका जनतामा खुशीको लहर छाएको छ।
त्यो खुशीको कारण हो “हाल बन्न लागेको स्वास्थ चौकी”।यी दुई मनकारी व्यक्तीले निशुल्करुपमा ५ रोपनी जग्गा उपलब्ध गराएपछि स्वास्थचौकी निर्माण प्रक्रियाले मुर्तरुप लिएको हो।गत बर्ष रुपाकोटका स्थानीय व्यक्तीसँग उनिहरुले ७ लाखमा ५ रोपनी जग्गा खरीद गरेका थिए।
भण्डारी दाजुभाइले उक्त जग्गा दान गरेपछि अहिले स्वास्थ चौकी निर्माण प्रक्रिया सुरु भएको छ।स्वास्थ चौकी निर्माण प्रक्रिया सुरु भएसँगै त्यहाँका जनता निकै उत्साही देखिएका छन्।अब हामीमा आशा र भरोसा जागेको छ।कम्तीमा रोग लागिसकेपछि समयमै उपचार पाइने भयो,”एक स्थानीय हरी भण्डारी खुशी मुद्रामा भने”।
सामान्य रोग लागेपनि समयमै उपचार नपाउने र उपचारका लागि धेरै टाढा जानु पर्ने बाध्यता स्वास्थ चौकी निर्माण प्रक्रियासँगै हट्ने देखिन्छ।गाउँका स्थानीयहरु बिरामी पर्दा स्वास्थ्य चौकी र उपचारको अभावमा छट्पटीएको देखेपछि मनमा निकै पीडा भएको थियो।कम्तीमा रोग लागि सकेपछि उपचार गर्ने ठाँउ त बनाउनु पर्छ भन्ने भाव हामीमा जाग्यो र जग्गा दान दिने निर्णयमा पुगेका हौं ,”बेलायतमा रहेका मोतिराज भण्डारीले भने”।
गरिब र बिपन्न बर्गका लागि पनि उपचारमा सहजै पहुच पुगोस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो।धेरै मानिस व्यक्तिगत स्वार्थ र लाभका लागि मरिहत्ते गरेको दृश्य हामी माझ घाम जस्तै छर्लङ्ग छ।त्यो दायरा भन्दा माथी उठेर समाज र जनताका लागि भण्डारी दाजुभाइले अनुकरणीय कार्य गरेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले बताए।
अहिले जग्गा मात्र दान गरिएको भएपनि स्वास्थ चौकी निर्माण पछि चाहिने आवश्यक स्वास्थ्य सामाग्री र एम्बुलेन्स खरीदमा जतिसक्दो सहगोग रहने जग्गादाता ताराप्रसाद भण्डारीको भनाइ रहेको छ।