२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ महाकालीमा बाढीको जोखिम बढ्यो,तटिय क्षेत्रमा कटान सुरु

महाकालीमा बाढीको जोखिम बढ्यो,तटिय क्षेत्रमा कटान सुरु

लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए।

“निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग (भाइरल रोडं) नदीले कटान गरिरहेको छ”, प्रवक्ता न्यौपानेले भने, “पारी दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ।

” यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ। उता दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ।


महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिए।

उनले प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको बताए। “यहाँ करिब ३०० घर प्रभावित भएका छन्।” उनले भने, “धेरैलाई सुरक्षित स्थानमा सारिएको छ।” नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन्।


लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ। सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु